स्थानीय सरकारको कार्यकाल अब लगभग अन्तिम चरणमा आइपुगेको छ । त्यसो त नेपालमा ७ सय ५३ वटा पालिका छन् । कतिपय पालिकाहरूले जनतालाई प्रतयक्ष लाभ हुने कामहरू गरेर विकाशमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केही पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथास्थितिमा छन् । पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारबाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिाणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ ।
यसै सन्दर्भमा सूदुरपश्चिम प्रदेश स्थित बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदसँग गाउँपालिकामा यो कार्यकालमा भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
शिवनाथ गाउँपालिकामा कोरोना महामारीको नियन्त्रण कसरी गरिरहनुभएको छ ?
पछिल्लो दुई वर्ष कोरोना माहामारीबाट सारा विश्व नै पीडित थियो । यो कुरा सबैलाई विदतै रहेको छ । यसबाट यो शिवनाथ गाउँपालिका पनि अछुतो रहेन । हाम्रो पालिकाबाट भारतमा काम गर्न जानेहरू धेरै छन् । उहाँहरूलाई सीमाबाट उद्धार गरेर पालिकामा ल्याउने काम सुरूमा गरियो । उहाँहरूलाई ल्याउँदा यातायातदेखि क्वारेन्टाइन, खानपान, ओड्ने ओछ्याउने जस्ता सबै व्यवस्थापन पालिकाले गर्यो । स्वास्थ्य सामाग्रीहरू वितरण गर्ने देखि जनचेतनाका कामहरू पनि गरियो । अहिले धेरै कम भएको छ । खोप पनि धेरैले लगाइसकेका छन् ।
१२ वर्ष देखि १८ वर्षसम्मका बालबालिकालाई हाम्रो पालिकामा पुष ८ गतेबाट खोप सुरू भएको छ । त्यसो हुनाले अहिले पालिकामा स्वास्थ्यका मापदण्डहरू अपनाएर मानिसहरू सामान्य जनजीवनमा फर्किसकेको अवस्था छ । हाम्रो पालिकामा ६ वटा वडा छन् । ३ वटा वडामा स्वास्थ्य चौकी छन् । ३ वटामा हामीले आधारभूत स्वास्थ्य केन्द्रहरू स्थापना गरेका छौं । पालिकामा अस्पताल बनाउनलाई प्रक्रिया अगाडि बढेको छ ।
शिवनाथ गाउँपालिकामा विकाशको अवस्था के छ ? विकासको गति कसरी अगाडि बढिरहेको छ ?
विकास त निरन्तर चलिरहने प्रक्रिया हो नि ! पाँच वर्ष दश वर्षमा सबै विकास सम्पन्न हुने कुरा होइन । हाम्रो शिवनाथ गाउँपालिकामा विकास निर्माणको प्रक्रिया सुरू भएको छ । गाउँपालिकामा वडा कार्यलयहरू थिएनन् । हामीले सबै वडाहरूमा वडा कार्यलय भवन निर्माणको कार्य अन्तिम चरणमा पुर्याएका छौँ । पालिका भवन पनि निर्माणधीन छ । पालिकामा हाम्रो निर्वाचित भएर आउँदै गर्दा खानेपानीको ठूलो समस्या थियो । अहिले पालिकाको ६ सय ७० घरमा एक घर एक धारा पुगिसकेको छ । अन्य सामुदायिक खानेपानी योजनाहरू पनि पुरा भएका छन् । हामीले विद्यालय र स्वास्थ्यका लागि भवनहरू निर्माण गरेका छौं । छ वटै वडाहरूमा सडक सञ्जाल जोडेका छौं ।
कृषि क्षत्रको कुरा गर्दा पनि हामीले सिचाइँको योजनाहरू पूरा गरेका छौं । कुखुरा पालन, बाख्रा पालन र भैँसी पालनको लागि पकेट क्षेत्र घोषणा गरेर काम भैरहेको छ । त्यसैगरी तरकारी खेतीका लागि वडा ३, ५ र ६ मा विभिन्न कार्यक्रमहरू लागु गरेका छौं । हाम्रो पालिकामा उत्पादन भएका तरकारीहरू महेन्द्रनगर धनगढीसम्म पुग्छ । अन्य क्षेत्रमा भन्दा हामी कृषि क्षत्रमा अगाडी छौं । यसलाई अझै व्यवसायिक बनाउँदै लैजानेमा हाम्रो ध्यान केन्द्रीत भएको छ । अब पर्यटनको क्षेत्रमा हामीले शिवनाथ मन्दिरलाई गुरू योजना बनाएर काम अगाडि बढाएका छौं । पालिकामा रहेको ऐतिहासिक क्रमागढिको संरक्षण गर्न पनि काम अगाडि बढाएका छौैं । यसरी हामीले पालिकामा धेरै विकास गर्न नसके पनि विकाशको क्रमको थालनी अवश्य गरेका छौं । विकाशको आधार स्तम्भ तयार गरेकोले हामी यो कार्यकाल सकिँदै गर्दा एकदमै सन्तुष्ट भएका छौं ।
स्थानीय सरकारको प्रमुख भएर काम गर्नुभयो । यो कार्यकालमा कस्ता चुनौतीहरूको सामाना गर्नुपर्यो ?
हामीलाई सुरूमा धेरै समस्या आएको थियो । पालिका भवन नहुनाले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत एकै कोठामा बसेर काम गर्नपर्ने अवस्थासम्म आएको थियो । कर्मचारीको पनि कमी थियो । त्यस्तै कोरोना महामारीले पनि सतायो । त्यस्तै नयाँ अभ्यास भएकाले धेरै समस्याहरू आए । तर पनि हामीले त्यसलाई सामना गर्दै अगाडि बढिरहेका छौं ।
शिवनाथ गाउँपालिकामा जनप्रतिनिधि र जनता बीचको सम्बन्ध कस्तो छ ?
गाउँपालिकामा जनता र जनप्रतिनिधिहरू बीचको सम्बन्ध राम्रो छ । हामीले सबै योजनाहरूमा जनताको सल्लाह लिएर काम गर्ने गर्छौँ । जनताको समस्याहरू समाधान गर्न जनताको नै राय आवश्यक हुन्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै हामी अगाडि बढेका छौं । हामी जनतासँग धेरै विषयहरूमा निरन्तर छलफल गरिरहेका हुन्छौं । त्यसैले हाम्रो गाउँपालिकामा हामी र जनताको सम्बन्ध एकदमै गाडा छ ।
कोनोरा महामारी नियन्त्रणको वाहानामा र अन्य विकास निर्माणमा पनि पारदर्शिता भएन्, भ्रष्टचार भयो भन्ने जनताको भनाइ छ । त्यहाँ भ्रष्टचार भएकै हो ?
मान्छेहरू पुर्वाग्राही भएर पनि विना प्रमाण बोल्ने गर्छन् । आफ्नो स्वार्थ पुरा नहुँदा केही विरोध गर्नु स्वभाविक हो । तर हाम्रो पालिकामा भ्रष्टचार नै भएको भनेर त्यस्तो केही विवाद भएको छैन् । हामीले सबै कामहरू विधिपुर्वक गरेका हुन्छौं । पार्टीगत हिसाबले पनि केही यस्ता कुराहरू आउँछ । तर पनि हामीले यो पूरै कार्यकालमा भ्रष्टचार गरेका छैनौं ।
पालिकालाई प्रदेश र केन्द्र सरकारबाट कस्तो साथ र सहयोग पाउनुभयो ?
प्रदेश सरकारको काम नै छैन । देशले संघीय गणतान्त्रिक लोकतन्त्रलाई अपनाइ सकेको अवस्था हो । तर पनि हामीसँग प्रदेश सरकारले यो चार वर्षमा कुनै पनि काममा समन्वय नै गरेन । प्रदेश सरकारले आफ्नो कार्यकर्तालाई भनसुनको आधारमा पार्टीगत सम्बन्ध भएको पालिकाहरूमा मात्रै योजना हाल्ने गरेको छ । यस्तो गतिविधि सुधार्न जरूरी छ । प्रदेश सरकारले संघीयताको मर्म र भावनालाई आत्मसाथ गरेको छैन । संघीय सरकारबाट आउन पर्ने योजनाहरू आएका छन् । भलही हाम्रो पालिकामा त्यस्तो ठूलो महत्वको योजनाहरू परेका छैनन । नियम अनुसार पालिकालाई गर्ने सहयोग केन्द्र सरकारले गरिरहेको छ ।
तपाईँ जनप्रतिनिधि भएर आएपछि जनतालाई प्रत्यक्ष लाभ हुने मुख्य-मुख्य कामहरू के-के गर्नुभयो ?
मैले यसअघि पनि भनिसकेको छु । पालिकाको हरेक टोल र वस्तीहरूमा सडक पुराएका छौं । वडा नम्बर १, ३ र ५ मा स्वास्थ्य चौकी थिएन । हामीले आधारभुत स्वास्थ्य चौकी बनाएका छौं । पालिकाकाका ९० प्रतिशत जनतालाई खानेपानीको सुविधा पुराएका छौं । पालिकाभित्र रहेका माद्यामिक विद्यालयहरूमा प्रविधिको विकासका लागि सोलार जडान गरेका छौं । यसै गरेर सिचाइँ, कृषिका कुराहरूमा पनि धेरै कामहरू गरेका छौं ।
यो कार्यकालमा गर्नै पर्ने तर नभ्याउनुभएको कामहरू के-के हो ?
पालिकामा विधुत लाइन जोडिएको छैन । हामीले विद्युत पुराउनु पथ्र्यो त्यो गर्न विभिन्न समस्याले गर्दा सकिएन । काम भरखर सुरू भएको छ । सडक बनाएका छौं तर हिउँदोमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । यसलाई कालो पत्रे गर्न भ्याइएन् । खेलमैदानको स्तरउन्नती गर्ने र पालिकामा अस्पताल बनाउने काम अधुरै छ । त्यो विविध समस्या र बजेटको कमिले गर्दा पुरा गर्न सकिएन ।
शिवनाथ गाउँपालिकामा अब निर्वाचित भएर आउने नयाँ जनप्रतिनिधिहरूलाई के सल्लाह दिनुहुन्छ ?
नयाँ आउने जनप्रतिनिधिहरूलाई म जुनसुकै पार्टीबाट जितेर आए पनि निर्वाचत भएपछि सबैको साझा भएर काम गर्न आग्रह गर्छु । पार्टीगत, जातिगत र भौगोलिक हिसाबले विभेद नगरी सबैलाई समान हिसाबले विकास गर्न आग्रह गर्छु । जुन—जुन पार्टीबाट आएपनि आपसी समझदारी र टिममा रहेर काम गर्नपर्छ भन्ने मेरो धारणा छ ।



















प्रतिक्रिया