नेपालमा विभिन्न समय राजनीतिक उतारचडावहरू हुँदै आएका छन् । राजनीतिक घटना क्रमहरू निरन्तर भैरहेका छन् । पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादले देश र जनतालाई दुई ध्रुवमा विभाजीत गरेको छ । संसददेखी विभिन्न कार्यक्रममा र चोक—चोकमा र चिया चौतारीमा पनि यसको बहस हुन थालेको छ । एमसीसीलाई खारेज गर्न आन्दोलनहरू भइरहेका छन् । आन्दोलनमा सकृय भूमिका निभाउँदै आएका नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सीपी गजुरेलसँग एमसीसीको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
झनझन जटिल बन्दै गएको एमसीसीलाई तपाईँको विचारमा पास गर्ने गर्दा ठिक हुन्छ की फिर्ता गर्दा ?
म स्पष्ट रुपमा भन्छु । एमसीसीलाई फिर्ता गर्नुपर्छ । किनभने एमसीसी र अमेरीकी सरकारले नै संसोधन गर्न नमिल्ने भनिसकेका छन् । वास्तवमा संसोधन सम्भव छैन् । संसोधन गरेर मात्रै पास गर्ने भन्ने जनतालाई अलमलाउने कुरा हो । त्यसो हुनाले यसलाई खारेज नै गर्न पर्छ भन्ने हाम्रो भनाई हो ।
नेपालको हितका लागि यसको सम्झौता गरेको हो पास गर्न पर्छ भन्ने छ । के—के कारणले गर्दा यो नेपालको हितमा छैन ?
हामीले नेपालमा आर्थिक साहायता चाँहीदैन्, भनेको होईन् । अमेरिकालाई नै केन्द्रीत गरेर अमेरीकी सहयोग चाँहीदैन् भनेको पनि होईन् । हाम्रो देशमा विदेशीहरूको साहायता आवश्यक छ । विकासका लागि दिएको सहयोगलाई हामीले विरोध कहिले पनि गरेका छैनौँ । एमसीसी सहयोग सर्त सहित आएको छ ।
अमेरीकाले एमसीसीलाई देखाएर यहाँको जलस्रोतको प्रयोग गर्ने, नेपालमा युरेनियमको खानी छ भन्ने चर्चा चलेकोले यस्ता प्रकृतिक स्रोतमाथी कब्जा गर्ने र अर्को ठुलो उदे्श्य चाँही चीनसँगको सित युद्ध भैरहेकोले नेपाललाई चीनसँग लडनको लागि अखडा बनाउनको लागि यो सम्झोता पास गर्न खोजेको हो । यो सम्झौता भयो भने अमेरीकाले यी उदेश्य अनुरुप काम गर्न थाल्छ । हामीले केहि भन्न सक्दैनौँ । त्यसो हुनाले यो विषय नेपालको सुरक्षासँग जोडीएको छ र नेपाललाई विदेशीहरूको रणभूमी बनाउने की नबनाउने भन्नेमा जोडीएको विषय हो । हामीलाई ५० करोड अमिरीकी डलर लिएर देशलाई रणभूमी बनाउनु छैन् । हामी शान्तिपूर्ण ढंगले बाँच्न र विकास गर्न चाहान्छौँ । त्यसैले गर्दा सम्झौताा भएको एमसीसीलाई रद्ध गरेर फिर्ता गर्नुपर्छ ।
एमसीसीको बिरोध नेपालको विकास हुन नदिने, चीनद्धारा परिचालित मान्छेहरूले गरिरहेको भन्ने आरोप छ । यसमा के भन्नुहुन्छ ?
यो गलत कुरा हो । जनतामा भ्रम सृजना गर्नका लागि भनिएको हो । एमसीसीको विषयमा चीनसँग हाम्रो कुनै सम्बन्ध छैन् । चीनले कुनै भुमिका खेलेको पनि छैन् । हामीले कुनै साहायता मागेको पनि छैन् । हाम्रो सम्बन्ध चीनसँग होईन, हाम्रो देश र जनतासँग छ । यदि नेपाल रणमैदान भयो भने, कुरूक्षेत्र भयो भने, देश र जनतालाई असुरक्षा भयो भने, के हुन्छ भन्ने मात्र हामीलाई चिन्ता छ । चीनलाई अमेरीकाले घेरा हाल्न खोजेको छ । त्यसमा चीन आफैले सोच्छ । हामीले कुनै चिन्ता गर्न पर्दैन् । चीन पनि एक शक्तीसाली राष्ट्र हो । अमेरीकासँग के—के गर्नुपर्छ ऊ आफै सोच्छ । हामीलाई त्यस विषयमा कुनै टाउको दुखाउन जरुरी छैन् । हामीले देश र जनताको लागि एमसीसीको विरोध गरेको हो ।
नेपालका सत्ताधारी दलहरू र प्रमुख प्रतिपक्ष दल पनि एमसीसी पास गर्न लागिपरका छन् । ती दल र शिर्ष नेताहरूले नेपालको अहित सोचेको हो र ?
ठुला दलका शिर्ष नेताहरूलाई हामीले धेरै पटक भनेका छौं । विभिन्न कार्यक्रमहरूमा भनेका छौं । अस्ति भर्खरै नेकपा माओवादीको महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलका नेताहरूकै अगाडि मैले एमसीसी खारेज गर्न अपिल गरेँ । तर प्रधानमन्त्रीले यो पढ्दै नपढी भनेको हो भन्नुभयो । त्यो एकदमै तथ्य हिन र हल्का कुरा हो । आफूले मात्रै पढ्न जान्ने अरुले नजान्ने भनेर त्यस्तो जवाफ त्यो जवाफ नै होईन् । किनकी उहाँसँग जवाफ नै छैन् । अहिले यी ठुला पार्टी र नेताहरूको स्वार्थसँग जोडिएको हुनाले यस्तो बाहाना बनाएको हो । एमसीसीमा नेपालले १३ अर्व लगानी गर्ने भन्नेमा ८ अर्व खर्च भैसकेको भन्ने रिपोर्ट आएको छ । त्यो पैसा कहाँ गयो ? केमा खर्च भयो ? भन्ने सन्दर्भमा अमेरीकाले पास गर्नका लागि मान्छे लगाएको बोल्न लगाएको भन्ने कुराहरू बाहीर आइरहेको छ । यसरी कुनै न कुनै किसिमले प्रभावित भएर शिर्ष नेताहरूले यसरी बोलीरहेका छन् । एमसीसी राष्ट्रको हितमा छैन् भन्ने कुरा सबै नेपाली जनताले पनि बुझिसकेका छन् ।
एमसीसीको विषयमा नेताहरूले तीन किसिमको अडान लिएका छन् । पास गर्ने, फिर्ता गर्ने र संसोधन सहित पास गर्ने । अमेरीकाले नै संसोधन हुँदैन्, भनिसकेको छ । संसोधन सहित पास गर्ने भनेर जनतालाई भ्रममा पारेको हो ?
अहिले हामीलाई नेपालबाट जसरी पनि एमसीसीलाई हटाउनु छ । त्यसको लागि जनमत सृजना गर्नु छ । जस्ताको तस्तै पास हुन हुँदैन् भन्नेहरूको पनि हामीले साथ लिनु छ । त्यसैले संसोधन गर्नुपर्छ भन्नेलाई जनतालाई भ्रममा पार्न खोजेको भन्दा चित्त दुख्ला । त्यसैले यसलाई जसरी हुन्छ हटाऔं भन्ने हाम्रो जोड हो । यसमा यथा अवस्थामा पास गर्न हुँदैन् भन्नेहरूको पनि यो पास गर्न हुँदैन भन्ने नै हो । किनभने संसोधन गर्न मिल्दैन् भनेर अमेरीकाले भनिसकेको छ । त्यसो हुनाले पारीत हुँदैन् । त्यसैले संसोधन गरौं भन्नेहरुको पनि पास गर्न हुँदैन् भन्ने नै राय भएकोले जनतालाई भ्रममा पारेको भनेर आरोप लगाउनु भन्दा पनि एमसीसीलाई खारेज गर्ने भन्नेहरू एक हौं भन्ने हाम्रो धाराणा हो ।
एमसीसीको विषयमा देश र जनता नै विभाजित भएका छन् । तपाईहरूले जनतालाई किन यसरी विभाजित बनाउनुभएको ?
देश दुई ध्रुबमा विभाजित भयो । यो हामीले चाहेर भएको होईन् । एमसीसी सम्झौता गर्नु गलत थियो । यो राष्ट्रघाती भएकोले हामीले विरोध गरेका हौँ । त्यसपछि समर्थन गर्ने र विरोध गर्ने बीचको विवाद आयो । यो हामीले चाहेर भएको होईन् । सम्झौता गर्दा यस्तो भएको हो । अहिले नेपालमा यो विषयमा ठुलो धु्रर्वीकरण भएको छ । यसमा अत्याधिक जनताले विरोध गरेपछि मात्र हटाउन सकिन्छ । नत्र यो योजनालाई अमेरीकाले चै छोड्दैन् ।
पहिले २ वर्ष अगाडि नै पास नगरे फिर्ता लाने कुरा थियो । त्यो समय सकियो फेरी अर्को समय थप्यो । तयसरी हुँदै आएर अस्ती डिसेम्बर १४ तारिख अन्तीम भनेको थियो । तर फिर्ता लगेन । भनेपछि अमेरीका जसरी पनि पास गर्न पर्नेमा छ । त्यसैले अमेरीकाको नियत र उदेश्य स्पष्ट भएको छ । हामीले यो विषयमा हामीले लाखौं जनतालाई सडकमा उतार्न पर्ने छ । देशभित्र कै राष्ट्रघातीहरूले देशलाई सिदाउन खोजेका छन् । यसको विरोधमा जनमत आउँछ ।
आन्दोलनले हिंसा निम्त्याउँछ । एमसीसीको विरोध गर्नलाई आन्दोलनको विकल्प छैन् ?
हामीले बहस र छलफल त धेरै गरेऔं । कोठा भित्रमात्रै बहस गरेर अनुमोदन गर्न खोज्नेहरूलाई जती तर्क दिएपनि मान्दैनन् । किनभने उनीहरूको नियत नै त्यस्तै छ । अब खारेज गर्न संघर्ष गर्न तयार भएको हो । राष्ट्रलाई बचाउन संघर्ष नै गर्नुपर्छ भनेर हामी लागि परेका हौँ । राष्ट्रलाई बचाउने जिम्मेवारी जनतालाई भएकोले राष्ट्र नै खतरामा पर्न लाग्दा हेरेर बस्न सकिँदैन् । संघर्ष गरेर एमसीसी खारेज गरेर फिर्ता गर्न हामी तयार हुनुपर्छ अरू उपाय छैन् । अमेरीकाले पास गर्न दवाव दिइरहन्छ । यहाँका संसदहरुलाई पास गर्न दवाव दिने काम उस्को जारी छ । थर्काउने, गलाउने जस्ता विभिन्न तरीकाहरू अपनाइरहेको छ ।
अन्त्यमा, अब कसरी आन्दोलन गर्ने योजना छ ?
हामीले सबैलाई विरोध गर्न आवहान गरेका छौँ । यसको विरोध गर्नेहरूलाई एक गर्न पनी हाम्रो कोसीस जारी छ । अहिले हाम्रो २६ दलको कार्यगत एकता बनाएका छौं । यस अगाडि पनि हामीले धेरै कार्यक्रमहरू गरौँ । भोली १८ गते पनि हाम्रो २२ वटा राजनीतिक संगठनहरू मिलेर विरोध कार्यक्रम छ । विरोध जुलुस माइतीघर मण्डलाबाट सुरू भएर संसद भवनसम्म आउने हाम्रो योजना छ । त्यसैगरी निरन्तर संघर्स गर्ने छौं । हामीले सम्पूर्ण जनतालाई यसको विरोध गर्न एकजुट पार्ने प्रक्रिया अगाडि बढाएका छौं । पहिले भन्दा जनसमर्थन बढेको छ । बढ्ने क्रम जारी छ । एमसीसी खारेज गराएरै छाड्छौं ।



















प्रतिक्रिया