Logo

समाचार

डोटीमा हिमपातले टावरमा समस्या, नेटवर्कले काम नगर्दा सेवाग्राही हैरान



डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ। हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए।

उनले भने, “टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदानप्रदानका लागि निकै समस्या भएको छ।” ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा यहाँका नागरिकले पटक–पटक दुःख खेप्नु परेको उनको भनाइ छ।

टावरको नेटवर्कले काम नगरेका विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको अर्का स्थानीयवासी दिनेशबहादुर सिंहले जानकारी दिए।

उता नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले सायल क्षेत्रको भल्मामा जडान गरिएका टावर ब्याट्रीबाट सञ्चालन हुने भएकाले केही दिनदेखि घाम नलागेका र घाम नलागेको दिन तथा रातिको समयमा ब्याट्री चार्ज हुन नपाउदा समस्या भएको हुनसक्ने बताए। उनले भने, “टावरले किन काम नगरेको हो हामी बुझेर नेटवर्क सुचारुका लागि पहल गछौँ।”रासस

प्रकाशित मिति : पुष २६, २०७८ सोमबार  २ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।