Logo

टिप्पणी

घर–घरमा लाश



अहिले कोरोना संक्रमण र यसबाट भैरहेको मानविय क्षतिको आँकडा हेर्दा चाँडै मुलुकमा कहालीलाग्दो अवस्था सृजना हुने देखिन्छ । दैनिक साढे ७ हजार भन्दा बढी संक्रमण र ५० को हाराहारीमा मानविय क्षति हुन थालेपछि आर्यघाटमा समेत लाश जलाउन पालो कुर्नुपर्ने स्थिति उत्पन्न भएको छ । 

अहिले काठमाडौं पशुपति आर्यघाटमा यही दृश्य देखिन्छ । लाश जलाउने ठाउँ नपाएपछि बागमति किनारमै सर्वसाधारणले जलाउन थालेका छन् । त्यहाँ पनि ठाउँ नपाएपछि पालो कुर्नपर्ने अवस्था छ । 
जुन हिसाबले राजधानी काठमाडौंसहित देशभर संक्रमण दर बढिरहेको छ यसले विकराल स्थिति उत्पन्न गराउने निश्चित छ । अस्पतालमा विरामीको उपचार हुने अवस्था नभएपछि धेरैले मृत्यु रोज्नु बाहेक अर्को उपाय छैन । कतिपय विरामीको त अस्पतालको मुखै देख्न नपाई मृत्यु भैरहेको छ । अझ कतिपय त अस्पताले भर्ना लिन नमानेपछि यताउता दौडाउँदा दौडाउँदै मरिरहेका छन् । 

अस्पताल पुगेर पनि के गर्नु ! त्यहाँ न शैया पाइन्छ, न अक्सिजन, न आईसीयू न भ्यान्टिलेटर । जति छन सबै प्याक । एउटा विरामी कोही मर्ला र आफनो मान्छेलाई त्यहाँ राखौंला भन्ने स्थिति छ । अझ अहिले त नेपालगंज र धनगढी संक्रमणको हटस्पट नै बनेका छन् । काठमाडौं उपत्यकाको स्थिति झन डरलाग्दो छ । सबै ठाउँमा गम्भीर विरामीको संख्या बढिरहेको छ । मृत्युको तथ्यांक पनि बढ्दो छ । 
सरकारले गर्ने भनेको भाषण मात्र हो । प्रधानमन्त्री एक्लैले केही गरे होला बाँकी मन्त्रीहरु त सुतेर बसेका छन् । भारतले अनुदानमा दिएको भ्याक्सिनले फूर्ती लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले हात उठाइसकेका छन् । उनले मन्त्रालयबाट विज्ञप्ती निकाल्न लगाएर अस्पतालमा उपचार गर्न नसकिने स्पष्टै पारिसके । 

बाँकी केही मन्त्री कोरोना संक्रमण भयो भनेर अस्पतालमा आराम गरिरहेका छन् । अरुलाई मतलवै छैन । उनीहरु आफू र आफनो परिवारलाई कसरी जोगाउने भन्नेमा मात्र केन्द्रीत छन् ।
निषेधाज्ञाको नाममा भ्याक्सिन कार्यक्रम पनि सरकारले स्थगित गरेको छ । भ्याक्सिन आयात गर्न कुनै पहल भएको छैन । कहिले भारत, कहिले चीन, कहिले अमेरिका त कहिले रुसबाट भ्याक्सिन ल्याउने भनेर अल्मल्याउने काम मात्र भएको छ । यो बेला भ्याक्सिन स्थगित गर्ने होइन घर–घरमा पुगेर भ्याक्सिन दिनुपर्ने हो । बाटोमा हिंडिरहेकाहरुको पास चेक गर्ने होइन चोक–चोकमा हेल्थ डेस्क राखी उनीहरुलाई भ्याक्सिन दिने हो । 

यो बेला मास्क र सेनिटाइजरको ठूलो कालोबजारी भैरहेको छ । व्यवसायीले चाहिने भन्दा बढी मूल्य असुलिरहेका छन् । सरकारले मास्क र सेनिटाइजरको निःशुल्क बितरण गरी प्रयोग गर्न प्रोत्साहित गर्नु पर्दैन ? 

सबैले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खान भन्छन् तर खाने कहाँबाट ? मान्छेलाई घर भित्र थुनेर खानेकुरा सरकारले दिइरहेको छ र ? कि सरकारले हरेकको खातामा पैसा हालिदिएर शक्तिवर्धक खानेकुरा खाउ भनेको छ । 

सरकार पूरै गैरजिम्मेवार छ । आफना नागरिकप्रति उसको कुनै चिन्ता छैन । सरकार र राजनीतिक दलहरु त राजनीतिक जोडघटाउमै व्यस्त छन् । कसैलाई संसदमा विश्वासको मत लिनु छ भने कसलाई आफू प्रधानमन्त्री हुनुछ । कसैलाई मुख्यमन्त्रीको पद लम्ब्याउनु छ भने  कसैलाई सो पद आफूले हासिल गर्नुछ । अझ कतिपय त महामारीको यो समयमा कसरी पैसा कमाउने भनेर व्यापारीसंग साँठगाँठ गर्नमै व्यस्त छन् । 

समुदायमा संक्रमण नराम्ररी फैलिसकेकाले परिस्थिति निकै जटिल बनेको छ । अहिले घर–घरमा कोरोना संक्रमित भएको आंकलन गर्न सकिन्छ । हजारौं मानिस होम आइसोलेसनमा छन । यसरी बसेकाहरुको चिकित्सकीय रेखदेख र उपचार केही पनि छैन । यो अवस्था हेर्दा अब धेरैले होम आइसोलेसनमै ज्यान गुमाउने खतरा छ । 

मंगलबार मात्रै ५५ जनाको मृत्यु भएको छ भने ७ सय ६ सय ६० नयाँ संक्रमित थपिएका छन् । यो संख्या अझै बढ्ने छ । एकातर्फ संक्रमणले ज्यान लिइरहेको छ भने अर्कोतर्फ निषेधाज्ञाका कारण खान नपाएर मर्ने स्थिति उत्पन्न हुँदैछ । 

सरकार योजनाविहीन र नतिजामुखी नहुँदा घर–घरमा लाश हुने स्थिति पैदा भैरहेको छ ।  घरका लाशहरु आर्यघाट लैजाने मान्छे नहुँदा घरमै कुहिने पो हुन कि ? यो कहालीलाग्दो स्थिति उत्पन्न नहोला भन्न सकिन्न । 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १८:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।