Logo

टिप्पणी

न चौतारी, न तिरतिरे पानी



यसपल्ट ३ हजार मिटर अग्लो भोजपुरको ट्याम्के डाँडाको फेदीमा बसेर मायाको आयतन नापिरहेको छु । अलिकति यात्राको कुरा लेख्न मन लागेको छ । अलिकति भोगाइका कुरा लेखेर परदेशी मनलाई रोमाञ्चित पार्ने इच्छा छ । ३ वर्षपछि म मेरो नाभी गाडिएको धर्तीमा पाइला टेक्न पुगेको छु । संसारको अग्लो धुरी सगरमाथाको टुप्पोमा पुगेको आरोही के त्यसरी हौसिन्छ , जन्मभूमिको माटोले मलाई त्यति पुलकित बनाएको छ । भोजपुरको माटो टेकेपछि मैले दलाई लामा संझिएँ । जो संग सबैथोक भएर पनि घर छैन् । घरविनाको प्राप्ति सधैं अधुरो र अपुरो हुँदो रहेछ । बीपी कोइरालालाई संझिएँ, जसले भन्ने गर्थे– ‘राष्ट्रियताको विषयमा द्विविधा भए आफू उभिएको जमिनको माटो हातमा लिनु त्यसपछि मनमा जे आउँछ, त्यही निर्णय गर्नु ।’ 

जब म चिलगाडीबाट ओर्लिएँ– खकन, भारी र पसिनाको विनिमय हुने ठाउँ चारपांग्रे सवारी साधनले लिइसकेछ । हिलो, धुलो र पाइला पाइलामा एम्बुस झैं लाग्ने ढुंगैढुंगाको उबडखाबड बाटो पक्की पिचमा अनुवाद भएछ । उकाली लाग्दा सुस्केरा लाउने चौतारी मेटिएछन् । जरुवा धाराको पानी खाने संस्कृति धुवाँ र धुलो उडाउँदै बेगिने मोटरसाइकल र गाडीहरुको आवागमनले अस्तित्वविहीन बनेछन् । गाउँ भन्नु मात्र चोया र खरले छाएका घरहरु खोज्नु भनेको हिमालमा यत्ति मानवको अस्तित्व खोज्नु जस्तै भएछ । विकास भनेको जस्ता पाताले छाइएका घर, हिउँदमा धुलो र बर्खामा हिलो बाटोमा कुद्ने ट्याक्टर भएछन् । मकै उब्जिने बारी र धान फल्ने खेत डोजर कुद्ने रणमैदान भएछन् । उताबाट टन्न बोकेर आउने ट्रक ट्याक्टर यताबाट फर्किदा ओडारजस्तै खाली फर्किनुपर्ने दृश्य शहरले मात्र हैन, गाउँले पनि उसरी नै भोेग्नु परेको रहेछ । गाउँको परिचय अलमलिएको छ । 

चाउचाउले चिउरालाई विस्थापित गराएको छ । हाँडीमा भुटेको मकैसंग घृणा र पपकर्नसंग प्रेमको अनौठो दृश्यले कसको मन कोक्याउँदैन र ? ऐंसेलु त फलेका छन् तर टिपेर खाने मान्छे छैनन् । नागरिकता लिएपछि खाडीको माटो सिंचिन जाने जमातका कारण गाउँको भूगोल न गरी खाने, न मरी जानेको अवस्थामा पुगेछ । बसन्तको आगमनसंगै पातले मुजूरा त फेरेको छ । तर पिपिरापिपिरी बजाउने जमात छैन् । बसन्तको मदहोसले कसैलाई छुन छोडेको छ । कटुस, ऐंसेलु, चुत्रोको रोमाञ्चकारी रसलाई आईफोन र फेसबुकले खोसेको छ । ढाल्ने, अँगेरी, सतिबयर र सालको पातमा बेरेको बिँडी खाँदै देश, समाज र परिवारका भलीभाँती कुरा गर्ने पुस्ता त शून्यजस्तै भएको छ ।  शिक्षाको अवस्था झन् बेहाल छ । बाउ शिक्षक आफ्नै सन्तान आफूले पढाउने स्कुलमा पढाउँदैन् । बरु अंग्रेजी घोक्ने बोर्डिङमा पढाउँछ । यसको मतलब उसलाई आफूले दिने शिक्षाकै भर छैन् । समाजमा ज्ञान दिने गुरु हैन, सूचना दिने शिक्षकहरु बढ्दा छन् । हो, हाम्रो समाज यसरी घरको न घाटमा परिणत हुँदै गएको छ । १८ वर्ष कटेपछि बाबु आमाबाट छुट्टिएर बस्ने अंग्रेज प्रचलन हाम्रोमा पनि ठ्याक्कै सर्न थालेको छ । तिनै बाउ आमाले हातमा थिग्री थिग्री गरेर हुर्काएको पुस्ताले बृद्ध बाबुआमालाई सहाराको बलिष्ठ हात नभएर लाठी थमाएको छ । समाज र परिवारबीचको हार्दिकता प्रेमको चास्नीभन्दा मिठो साइनोमा चिराइतो घोलिएको छ ।

एउटा पुस्ताले अर्को पुस्तालाई सम्मान गर्ने पूर्वीय संस्कृति अपभ्रंस हुँदै गएको छ । शेक्सपियरलाई अंग्रेज समकालिनहरु कति सम्झन्छन् कुन्नि तर हाम्रा भानुभक्तहरु त स्वदेशमै प्रवासी भएका छन् । गोराले न्यूटन, एडमन्ड हिलारीलाई दिने सरको पदवी हाम्रो समाजमा नचिनेका सवैलाई दिन्छ । हामीले राजनीतिक परिवर्तनका धेरै उतार चढाव त भोग्यौं । तर त्यसको उचित व्यवस्थापन नहुँदा परिवर्तनहरु सवै न हाँस न बकुल्लाको चालमा परिणत भए । संसारमा जे खोज्यो त्यही पाइन्छ । दुख खोज्नुस दुख हाजिर, सुख खोज्नुस सुख खडा । सफल हुनेहरुका लागि सफलताको खात, निरासावादीका लागि यत्र, तत्र, सर्वत्र निरासा ।  समृद्ध मुलुकमा पनि दुखका आफ्नै कालखण्ड छन् । काला र गोराका लागि छुट्टाछुट्टै बजार थापिएका असमान व्यवहारका कथा कम्ति पीडादायी छैनन । डकोटा, चेरी, जिप्सी र पुमा जात भएका युरोप अमेरिकाका आदिवासीहरु अहिले हेलिकोप्टर, गाडीको नाममा सीमित हुनुपरेको दर्दनाक सत्य कसले भुलेको छ र !  यति हुँदाहुँदै पनि विदेशी पुर्खाहरुको लगन र देशभक्तिको उच्च मान मर्यादाले उनीहरुलाई त्यो अवस्थामा पुर्‍यायो । यति फरक हो– पुर्खाले खनेको बाटोमा हामी विश्वस्त हुन सकेनौं ।

यति हुँदाहुँदै पनि हामीले हिम्मत हारेका छैनौं । प्रकृतिले दिएको सानो, सुन्दर देशको बखान गाएर साध्य छैन् । प्राकृतिक सन्तुलनको कुरा गर्ने हो भने यो देश एयर कन्डिसनभन्दा कम छैन् । टीसर्ट लगाएर हिमाल हेर्न पाइने अपूर्व संयोग हाम्रै  भूगोलमा मात्र भेटिन्छ । आँधीबेहरी, ज्वालामुखीजस्ता जुन जुन प्राकृतिक विभत्सले विदेशी भूमिलाई त्राही त्राही बनाएको छ, ती हाम्रा लागि एकादेशको कथाभन्दा कम छैन् । यी सवै हुँदाहुँदै पनि पुर्पुरोमा हात लाउनु चाहिँ हाम्रो विडम्बना हो । भन्छन– कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । हामीले पनि त्यो घेरा देखिरहेका छौं । नयाँ पुस्ता आएको छ । जुन पुस्ता प्रविधिसंग अनौठोसंग लहसिएको छ । केही वर्षसम्म आफ्नै परिवेशमा निम्छरो भएर बाँचेका नेपालीहरु आज ४० लाख बढीको संख्यामा सारा विश्वभर छरिएका छन् ।  भला दुखको कुरा के भने पैसा भित्रिए पनि सीप भित्रन नसक्दा मन कुड्याउनु परेको छ । यही भएर त हो नि सिंगापुरका लिक्वान, ईण्डोनेशियाका महाथिर मोहम्मद, क्युवाका फिडेल क्यास्ट्रोको जस्ता पात्र हामीले आफ्नो परिवेशमा जन्माउन सकेनौं । धर्तीको भाग्यरेखा कोर्ने साइत पनि जुर्नैपर्छ जस्तो लाग्छ । 

यी मेरा व्यक्तिगत कुण्ठा हुन । शायद मैले आफ्नो जन्मभूमि नटेकेको भए यी विषयको उठान हुने थिएन होला । आखिर मान्छेको भावनाको तार जो संग जहाँ जोडे पनि आउने ध्वनि उही नै हो ।  मलाई लाग्छ– हाँसो नै त्यस्तो भाषा हो, जुन भाषा सवैले बुझ्छन् । आखिर संसारका हरेक मानिस यसैका लागि दौडधूप गरिरहेका छन् । नियतिले कसलाई कहाँ पु¥याउँछ भन्न सकिदैन् । तर हरेक प्रयास राम्रैका लागि हुन्छ । कामना गरौं, हाम्रा कर्म मानव कल्याणका लागि सिद्ध हुन् । पुर्खाको वाणी खेर नजाओस्– जननी जन्म भूमिश्च, स्वर्गादपि गरियसी । 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।