राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावरको निमन्त्रणामा अमेरिका भ्रमणमा जाने तयारीमा थिए । विरोधी खेमाको जस्तो देखिएपनि गोप्य रुपमा राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्योे– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूताबासका कार्यबाहक राजदूत फिक्सलाई भेटेर ठाडै भनिदिए– ‘हाम्रो राजा अमेरिका जाँदा तिम्रो राष्ट्रपतिले किन स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिंदै भनेका थिए– ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कुटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन । त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उमेरका दृष्टिले पनि उहाँ बृद्ध हुनुहुन्छ । डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन् । त्यसैले नजाने भनेको हो ।’
अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर विरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए । घटनाको यही संवेदनशिलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईट हाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन शुरु भयो । नेपाली पाहुनाका कारण ६ दशकअघि फेरिएको त्यो चलन जोन बाइडेनको पालासम्म आइपुग्दा पनि कायमै छ । त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई यथास्थानमा आगन्तुक भिसा उपलब्ध गराउँथे ।
त्यो इज्जत त्यो शान अव एकादेशको कथा बनेको छ । सामान्य पासपोर्ट बोक्नेहरुको त कुरै भएन, रातो पासपोर्टधारीहरु समेत विदेशी अध्यागमनमा शंकाको घेरामा पर्ने गरेका छन् । शायद राजनीतिमा हारेपछि त्यसको प्रभाव सामान्य जीविकोपार्जन गर्नेहरुमा पनि पर्छ क्यार । यसै भएर त विदेशी भूमिमा नेपालीको इज्जत, सलामी, मलामी र गुलामीमा सीमित हुँदै गएको छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यो ठाउँमा पुर्याउन भाजपा सरकारका कुनै पनि मन्त्री यति प्रविधि मैत्री छन कि उनीहरुका हरेक गतिविधिको जानकारी तत्क्षण सार्वजनिक हुने गरेको छ । साम, दाम, दण्ड, भेदको प्रयोग गरेर गैरआवासीय भारतीय नागरिकले खेलेको भूमिका ढुंगा अक्षर सावित भयो । त्यही भारत हो, जहाँ इन्दिरा गान्धीको हत्या हुँदा एउटा रेडियोले सिख सुरक्षा गार्डले गान्धीको हत्या गरेको भनेर प्रचार गरिंदा भारतीय सिखमाथि आक्रमण शुरु भयो । शिखहरु रातारात डाँडा काट्न बाध्य भए । ज्यान बचाउन भागेका तिनै सिख क्यानाडा र अष्ट्रेलियामा टाइकुन भएर बसेका छन् । सीप, ज्ञान र मेहनतबाट उनीहरु विदेशी भूमिमा पनि मालिक भएका छन् ।
उद्योगधन्दामा लागेको मानिस कालान्तरमा उद्योगी बन्नेमा शंका छैन, तर भाग्यमा नै चौकीदार लेखिएको नेपाली चौकीदारभन्दा माथि उठ्न सक्दैन । अरु त अरु भारतबाट नेपालमा काम खोज्न आएकाहरु सानै स्तरमा किन नहोस् , उद्यम गर्छन् । कपाल काट्छन् । सिरक बनाउँछन् । छाता मर्मत गर्छन । जुत्तामा पालिस लगाउँछन् । यो व्यवसाय सानै किन नहोस, यसले उद्यमशीलताको विकास गराउँछ । तर भारत टेकेको नेपाली बहादुरका नाममा चौकीदारी बाहेक केही जान्दैन । पारी देशका गैरआवासीय भारतीयहरु आफ्नो देशमा सरकार परिवर्तन गर्ने आँट गर्छन तर हाम्रा गैरआवासीय नेपालीहरु भने लाटाले बाउ घुक्र्याएजस्तो घुक्र्याइ रहन्छन् । एउटा देशको नागरिक भएर धर्म निर्वाह गर्न नसकेकाहरुलाई दोहोरो नागरिकता चाहिएको छ । विदेशमा हुँदा नेताहरुलाई गाली गर्नु , काठमाडौंमा गाडीले ठक्कर दिएर कुकुर मरेको विषयदेखि लिएर सिंहदरवारसम्मका विषयमा कमेन्ट गर्नु उनीहरुको दिनचर्या हो ।
रेमिट्यान्सका कुरा गर्ने हो भने आफूलाई दोस्रो दर्जाको नागरिक बनाउने प्रक्रियाका नाममा बुझाउनु पर्ने कर, त्यसपछि परिवारका अन्य सदस्यलाई समेत एडजस्ट गराउन पु¥याइने विधि विधानका कारण तिनीहरुको कमाइ देशका लागि ल्हासामा सुनको कथाले हात बुचो भएको उखानको पर्याय बन्ने गरेका छन् । यही कारण विदेशिनेहरुको परिवारमा न पाल्ने अभिभावक, न मरेपछि पोल्ने सन्तानको सन्तुलन छ । गरिब गुरुबाका सन्तान खाडीमा भासिएका छन् । धनीका सन्तान युरोप अमेरिकामा डुबेका छन् । आखिर कालले लगेपनि बाघले घिच्याएपनि नेपालका घर आँगन रित्ता छन् । ठूलाबडाका न छोरा न बुहारी, न छोरी न ज्वाईं साथमा छन् । बरु नातिनातिनाको न्वारन, पास्नी विहे भिडियोमा हेर्नुपर्ने अवस्था छ । नातिनातिनाको न्यास्रो टमी पालेर टार्नुपर्ने स्थिति छ । शरीरभरि रोगले गरेको राष्टिय सहमतिलाई अर्गानिक नामको भुसे खान्कीले छल्नु परेको छ । अब प्रश्न उठछ, घरपरिवारका लागि त टेको बन्न नसकेका कथित एनआरएनहरुले देशको मुहार फेर्लान भनेर पत्याउनु भनेको आपैंmले आपूmलाई नै धोका दिनु सिवाय केही होइन ।
गैरआवासीय नेपाली मध्ये औंलामा गन्नलायक बाहेक सवै त्यो देशका मजदुर हुन् । विक्न त परै जाओस टिक्नसम्म पनि एक्लो मानिसको आम्दानी पर्याप्त नहुने भएकाले कम्तिमा दुईजना बस्नुपर्छ । यसको मतलब उसले आफ्नै शरीरको देखभालका लागि त कति सचेतता अपनाउनुपर्ने अवस्था छ भने यस्तो स्थितिमा फुइँफुट्टा हुनुको कुनै अर्थ छैन् । भावना र यथार्थको जमिन कदापि समान हुन सक्दैन । जहाँ रहेपनि अधिकांश नेपालीको भविष्य भात जित्ने तर भविष्य हार्ने खेलमा सीमित हुने गरेको छ । कारण हाम्रो कुटनीति मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरुको मर्यादा मेची र महाकालीबाट पारी तर्न सकेको छैन् । बरु आफ्ना छोरा या नातिलाई मेडिकल पढ्न पठाउने, औषधोपचार गराइ माग्ने, निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स पाउन बिन्तीपत्र हुने क्रम बढ्दो छ । एउटा भिसाका लागि जिन्दगीभरको इमान धरौटी राख्ने खालका गतिविधिमा चल्तीका नेताहरुको दिनचर्या बित्ने गरेको छ । फलस्वरुप दूताबासका गेटपालेदेखि उच्च अधिकारीसम्मले यो प्रवृत्तिमाथि राम्रैसंग खेलेका छन् ।
अब कुनै पनि कुटनीतिक निकायले सिंगो पार्टीलाई चिन्न छोडेको छ । कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन । चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनियाँ भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाँले उत्तर दिए– ‘चोमोलोङ्मा ।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपुर्जा नेपालको नाममा दिलाई छोडे । एशियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताको परिचय दिएका थिए । जसका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु उनीसंग रुष्ट बनेका थिए । प्रधानमन्त्री भएका बखत बीपी भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने– ‘ म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरु बढी काम गर्न सक्छु ।’
नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अभैm संग्रहालयमा सुरक्षित छ । जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छूट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरुको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरु बद्नाम छन् । कम्युनिष्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरु इमान्दार छन् , तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन् । इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् । टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो । चीनले शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए ।
१४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे । राष्ट्रसंघमा अलिखित भाषण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए । बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके । अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए । रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सूसूचित गर्न गिद्दे प्रेसमात्र ल्याएनन, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे । राजा वीरेन्द्रले झण्डै डेढसय देशबाट नेपाललाई शान्तिक्षेत्र घोषित गराए । तर गणतन्त्र आएपछि लोकतन्त्रको जननी मानिने बेलायतमा रहेको नेपाली दूताबास कमिसनको चक्करमा बेच्ने प्रक्रिया शुरु भएको समाचार आउन थाले । खर्च नभएर दूताबास र महावाणिज्य दूतावासका कार्यालयहरु खुल्ला आकासमा सञ्चालन भएका तस्वीर छापिन थाले । भागवण्डाका नाममा सुँगुरलाई ठूलो मूसा भनेर बुझ्ने खालका मानिसहरु दूतमा नियुक्त हुन थाले ।
१९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए । मोहनशम्शेर जननिर्वाचित प्रधानमन्त्री थिएनन् । तर उनैले सन्धिमा सही धस्काएका थिए । सबैलाई थाहा भएकै सत्य हो– संसदले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ । अहिले यही सन्धि दलहरुका लागि अन्धाले छामेको हात्तीजस्तो बनेको छ । पश्चिमा राष्ट्रहरुले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन् । जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ । तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैंसीको नियति भोग्नुपरेको छ । शुरु शुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो । अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो । साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशी खर्च ग¥यो । अहिले त्यो रणनीति रुसमा केन्द्रित छ । यी सवै घटनाक्रमको निष्कर्ष हो– आत्मकेन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ । जब नेता राजनेता बन्ने अबसर छोडेर एजेन्टमा रमाउँछन, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन् । राजनीतिमा विश्वास भएन भने त्यो आत्मघात शिवाय केही हुँदैन् ।




















प्रतिक्रिया