Logo

टिप्पणी

पहिला खाना अनि कोरोना



चिकित्सककाअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न र निको हुन प्रोटिनयुक्त खानेकुरामा जोड दिनुपर्छ । शरीरको ‘इम्युनिटी’ अर्थात रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित रुपमा शक्तिबर्धक खानेकुरा खाएमा कोरोनाबाट बच्न सकिन्छ । 

भाइरसको संक्रमण नहोस भनेर सरसफाइ, मास्क र सेनिटाइजरको अलावा खानपान पनि मुख्य कुरा रहेको छ । नियमित तातोपानी पिउनाले पनि संक्रमणबाट धेरै हदसम्म जोगाउने गरेको छ । 

तर, प्रश्न उठ्छ खाने कसरी ? पिउने कसरी ?

देश एक किसिमले पूर्ण लकडाउनको अवस्थामा छ । न्यून बर्गका मानिस हातमुख जोर्न नसक्ने अवस्थामा पुगेका छन् । मध्यम बर्गका अधिकांश बेरोजगार भएका छन् । उनीहरुको आयश्रोत सुकेको छ । घरबाट बाहिर निस्किने स्थिति छैन । काम छैन । अभाव र तनावले ग्रसित पारेको छ । 

कोरोनासंग जुध्न सबैभन्दा ठूलो समस्या यी दुर्ई वर्गका मानिसलाई भएको छ । परिवारमा एकजना मात्रै पनि संक्रमित हुँदा उनीहरुको बिल्लिबाठ हुने स्थिति छ । न उपचार गराउन सक्ने न त घरमै स्याहारसुसार गरेर राख्न सक्ने । 

अलिकति जोहो गरेको पैसा पनि सकिएपछि बजारमा किन्ने सक्ने क्षमता पनि छैन । निषेधाज्ञाको मौका उठाउँदै बजारमा कृत्रिम मूल्यबृद्धि निकै बढेको छ । निश्चित समयमा मात्रै पसल खुल्ने भएपछि सर्वसाधारणलाई महंगो भएपनि नकिनी सुखै छैन । अहिले यो वर्ग ऋणकर्जा गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्थामा पुगेको छ ।

बजारमा दाल, चामल, तेल, गेडागुडी, सागसब्जी निकै महंगो छ । यतिसम्म कि खाने तेल महिनैपिच्छे प्रति लिटर ४०/५० का दरले बढिरहेको छ । दाल, चामल र गेडागुडीमा पनि २० प्रतिशतसम्म मूल्य बढेको छ । 

अझ अण्डा र माछा मासुको त कुरै छोडौं । प्रोटिनका लागि भरपर्दो मानिएको अण्डाको मूल्य निकै बढेको छ । अण्डा प्रतिक्रेट ४२० रुपैयाँभन्दा बढी छ । कुखुराको मासु पनि बढेर ४०० रुपैयाँ पुगेको छ । किन यसरी मूल्य बढाइयो भनेर न कोही सोध्छ न राज्यले आफनो जिम्मेवारी ठानेको छ । पसलैपिच्छे मनपरी मूल्य छ । 
महामारीको यस्तो संकटमा बेला जथाभावी मूल्य बढ्दासमेत सरकार चुपचाप बसेको छ । सरकारले त यो बेला सर्वसुलभ मूल्यमा खानेकुरा उपलब्ध गराउनुपर्ने हो । दाल, चामल, तरकारी, अण्डा, माछामासु, तेल तथा पानी जति सक्यो मूल्य निर्धारण गर्नुपर्ने हो । 
सबैभन्दा ठूलो कुरा त पहिला मान्छेले खानपाउनु पर्यो । बजारमा जतिसुकै पौष्टिक चिज पाइए पनि किन्न नसक्ने हो भने त्यसको के अर्थ ? घरको भान्सामा खानेकुरा नहुने र पसलमा किन्न पनि नसक्ने अवस्था सृजना भैसकेको छ । यस्तो बेला सरकारले दैनिकउपभोग्य बस्तुमा विशेष योजना ल्याई सस्तो मूल्यनिर्धारण गर्नुपर्ने होइन ?

सबै नेपालीले पेटभर आनन्दले दालभात, माछामासु, अण्डा, गेडागुडी खानपाए त्यसै ‘इम्युनिटी’ बढ्छ । खानै नपाउने हो भने २४ घण्टा खोलिएका मेडिकलबाट ल्याएको ‘सिटामोल’ ले कोरोना परास्त गर्ने हो र ?

यसकारण सबैभन्दा पहिले सबैलाई आनन्दले पेटभरी खान सक्ने वातावरण बनाउनुपर्छ । यसको सबैभन्दा सजिलो उपाय भनेको खाद्यान्नलाई सस्तो बनाउने नै हो । यसका लागि सरकारले खाद्यनीति परिवर्तन गरेर हुन्छ वा बजेट तलमाथि जे गरेर हुन्छ, तत्काल गर्नुपर्छ । यसो गरियो भने न्यूनआयभएकाहरुको पनिपौष्टिक खानेकुरामापहुँच पुग्छ । पौष्टिक खानेकुरा पाए जीउ त्यसै पोषिलो हुन्छ । रोगसंग लड्ने क्षमता त्यहींबाट मिल्छ । 

अहिले राज्यको नीति उल्टो गतिमा हिंडिरहेको छ । यो अवस्थामा धनी झन्झन् धनी हुने र गरीब झनझन गरीब हुने स्थिति देखा परेको छ । 

उदाहरणको लागि विहान छोटो समयका लागि खुल्ने पसलहरुमा सबैभन्दा बढी के बिक्री हुन्छ भनेर हेर्दा चाउचाउ देखिन्छ । चाउचाउ स्टक गर्न मिल्ने, खाजाखाना सबै बनाउन मिल्ने भएपछि धेरेजसो मानिसहरुले चाउचाउ खरिद गरेको देखिन्छ । चाउचाउ बिक्दा काउली उमार्ने किसानलाई नभइ अर्बपति उद्योगीलाई नै फाइदा पुग्ने हो । 

सरकारले कोरोनाबाट जोगिन भ्याक्सिनको नीति लिए पनि सफल हुन सकेको छैन । संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा लागू गरेको दुई हप्ता पुग्न लागेको छ । यो बीचमा सरकारले के गर्यो त ?
सरकार लकडाउन गरेर बैशाख २७ गते विश्वासको मत लिने ध्यानमा छ । सरकार आफ्नो पार्टी एमाले भित्रको विवाद कसरी मिलाउने भन्ने चिन्तामा छ । सरकार आफ्ना मान्छे मुख्यमन्त्री रहेको प्रदेश सरकारको संकट टार्नमा व्यस्त छ । सरकार भ्याक्सिन ल्याउँदा हुने अर्बौ रकम कमिसनको बार्गेनिङमा छ । 

सिटामोल किन्न सडकमा निस्केको एक निरीह मान्छे सरकारको कारवाहीको दायरमा पर्छ । त्यसलाई सरकार निषेधाज्ञा उल्लंघन र  संक्रमण फैलिएको ठान्छ । 
सरकार विवेक र दृष्टि गुमाएको अवस्थामा भएपनि कम्तिमा पहिले खाना र त्यसपछि कोरोनाबाट बचाउने जुक्ति मात्र पलाइदिए आम नेपालीको कल्याण हुने थियो  । 

 

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ६ : ३२ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।