नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय चुनावमा प्रतिपक्ष एमालेसँग चुनावी तालमेल नगर्ने भएको छ । वाम गठबन्धनका लागि माओवादी र एमाले दुबैतिरका दोस्रो तहका नेताहरु प्रयासरत रहेको चर्चा चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेलको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।
सत्ता गठबन्धनमा चुनावी तालमेलको सैद्धान्तिक सहमति भए पनि भागबण्डा मिल्न नसकिरहेका बेला त्यसबारे छलफल गर्न आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । गठबन्धनमा तालमेलका लागि भएका छलफलबारे वैठकलाई बिफ्रिङ गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र चुनावी तालमेल नभए पनि एमालेसँग नगर्न निर्देशन दिनुभएको एक नेताले बताएका छन् ।
प्रचण्डले एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुने पार्टी पंतिलाई निर्देशन पनि दिए । पछिल्लो समय संगठन व्यवस्थित भैरहेको, पार्टी प्रवेशको लहर चलेको र जनताको आकर्षण माओवादीप्रति बढिरहेको प्रचण्डको भनाइ थियो ।
‘प्रचण्ड’ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।
उनले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको दाबी गरे ।
अध्यक्ष दाहालले तत्कालीन नेकपामा पूर्व एमालेका अधिकांश नेताहरुले अबको नेता ‘प्रचण्ड’ भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि बताए । उनले नेकपामा रहँदा माओवादीको पंक्ति ठूलो भइदिएको भए पार्टी कब्जा माओवादीले गर्ने अवस्था रहेको बताए ।




















प्रतिक्रिया