Logo

बागमती प्रदेश

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्च दिने धुलिखेलकाे निर्णय



धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार दिने भएको छ। कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ। 

‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ,’ मेयर अशोक ब्याञ्जूले भने। उनका अनुसार कोरोना सङ्क्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र सङ्क्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ। 

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय सङ्क्रमित रहेका छन्। धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ। यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३२५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा २७३ सङ्क्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ । 
 
–––

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार ०८:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।