Logo

प्रमुख समाचार

आज बागमती प्रदेशले चौँथो मुख्यमन्त्री पाउँदै



हेटौंडा । बागमती प्रदेशले आज सोमबार प्रदेशको चौँथो मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख यादवचन्द्र यादवले प्रदेश सरकार गठनका लागि दिएको समय आज अपरान्ह ४ बजे सकिदैँछ । त्यसअघि प्रदेश सभामा निर्वाचित दलहरुले सरकार गठनका लागि आवश्यक बहुमतसहित दाबी पेश गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्रीका लागी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जमकट्टेलले दाबी पेश गर्ने तयारी गरेका छन् । धादिङबाट प्रदेशसभामा निर्वाचित भएका जमकट्टेलले आज नेकपा एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् ।

सत्ता साझेदार दलको भागबण्डा अनुसार आलोपालो हुने बागमतीमा माओवादीले पहिलो नेतृत्व लिने भएको हो ।

१ सय १० प्रदेश सदस्सीय रहेको बागमतीमा प्रदेश सरकार गठनको लागि ५६ जना प्रदेश सांसद आवश्यक हुन्छ । सरकार गठनको लागि ५६ मत आवश्यक पर्नेमा सत्ता गठबन्धनको एमालेसँग २८, माओवादीसँग २१ र राप्रपासँग १३ मत गरी ६२ मत रहेको छ ।

४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना, हाम्रो नेपाली पार्टीका २ जना गरी १ सय १० जना निर्वाचित भएका थिए ।

बागमतीमा यसअघि ५ वर्षे पहिलो कार्यकालमा ३ जना मुख्यमन्त्री बनिसकेका छन् । ०७४ मा भएको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्दै प्रदेश सांसद डोरमणी पौडेलको नेतृत्वमा प्रदेश सरकार बनाएको थियो ।

राजनीतिक घटनाक्रमसँगै केन्द्रको सरकार परिवर्तन हुँदा प्रदेशको सरकार पनि परिर्वतन भएको थियो । पौडेलपछि बागमतीको नेतृत्व तत्तकालिन एमाले नेतृ अष्टलक्ष्मी शाक्य र एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले लिएका थिए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०८:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।