Logo

राजनीति

सरकार र पुनबीचको निर्णायक वार्ता साढे पाँच बजे प्रधानमन्त्री कार्यालयमा



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन र सरकारबीचको निर्णायक वार्ता आज (आइतबार) नै हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा आजै दिउँसो भएको पहिलो चरणको वार्ता सकारात्मक भएको र दोस्रो चरणको निर्णयक वार्ता आजै प्रधानमन्त्री कार्यालयमा हुने र त्यसका लागि तीन सदस्यीय टोली बनाइएको डा. पुन निकट स्रोतले जानकारी दियो ।

‘आज दिउँसो भएको छलफलमा डा. पुनले हाम्रो माग यो–यो भनेर भन्नुभयो । र सरकारले तपाईँका माग विभिन्न मन्त्रालयसँग सम्बन्धित भएकोले हामी सबै मन्त्रालयबीच छलफल गर्छौं । त्यसका लागि समय दिनुस् भनेर भन्नुभएको छ’, पुन निकट स्रोतले भन्यो, ‘त्यसैअनुरुप हामीले पनि टोली बनाएको छौं । सरकारले सबै कुरा छाडेर पनि हामी तपाईसँग छलफल र माग सम्बोधनमा केन्द्रित हुने भनेको छ ।’

विगत तीन दिनदेखि धर्नामा रहेका डा. पुन र उपप्रधान तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागीबीच पहिलो चरणको छलफल रक्षा मन्त्रालयमा गरेका थिए ।

उक्त वार्तापछि डा. पुनले सकारात्मक कुराकानी भएको जानकारी दिए । दुई पक्षबीच आजै साँझ ५ बजेभित्रमा टोली गठन गर्ने निर्णयसमेत भएको छ । ‘छलफल एकदमै सकारात्मक भयो’, उनले भने, ‘आज बेलुका पाँच बजेभित्र टोली गठन गर्ने निर्णय भएको छ । आज भ्याइयो भने रातारात छलफल गर्ने, नभ्याए भोलिसम्म आन्दोलनका माग पूरा गर्ने निर्णय भएको छ ।’

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्र हेर्ने छुट्टै निकाय खडा गर्नुपर्ने र राज्यले यसमा लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना जारी राखेका छन् । सरकार मााग सम्बोधनका लागि ठोस कदम चाल्न तयार भएपछि भने आन्दोलन पनि फिर्ता लिइने डा. पुनको तयारी छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:५८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।