एजेन्सी । युक्रेनमा भएको आक्रमणपछि अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रले रुसमाथि कडा प्रतिबन्ध लगाएका थिए । जी सेभेनमा आवद्व राष्ट्रहरु, पश्चिमा राष्ट्र तथा यूरोपले रुसको तेललाई प्रतिबन्ध लगायो ।
तर पनि ती देशहरूले अप्रत्यक्ष रुपमा रूसी तेलको आयात गरिरहेका छन। युरोपले रुसी तेल भारतमार्फत खरिद गरिरहेको छ । भारतबाट रुसको तेल खरिद गरेर युरोपले आफ्नै प्रतिबन्धको उल्लंघन गरिरहेको बताइएको छ ।
युक्रेन युद्ध पछि, रुसबाट भारतको तेल आयात ह्वात्तै बढेको छ । अहिले भारत युरोपको सबैभन्दा ठूलो इन्धन निर्यातकर्ता बनेको छ। रुस युद्वपछि भारतको तेल आयातमा १३५० प्रतिशत वृद्वि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । द सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयरले भारतको तेल आयातबारे गरेको अध्ययनले रुस–युक्रेन युद्वपछि भारतमा १३५० प्रतिशत तेल आयात भएको बताइएको हो ।
यसमा युरोपियन युनियन, जी–७ र अष्ट्रेलियाले रुसबाट तेल नकिन्ने गरी रुसी तेल प्रतिबन्ध नै लगाएका थिए । तर उनीहरुले सीधै नभई भारत र चीनबाट रुसी तेल किनिरहेको बताइन्छ । रूसी तेलको आयात रोक्नको लागि पश्चिमी देशहरूले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलरको सीमा तोकेका छन्। यो मूल्य ‘क्याप’ गत वर्षको डिसेम्बर ५ देखि लागू भएको हो । यसका बाबजुद युरोपले भारत र चीनबाट अप्रत्यक्ष रूपमा रुसको तेल खरिद गरिरहेको छ ।
युक्रेनमा भएको आक्रमणलाई लिएर रुसमाथि लगाइएको पश्चिमी प्रतिबन्धमा चीन र भारत सामेल भएनन्। यस्तो अवस्थामा दुवै देशले रुसबाट तेल किन्ने मात्र गरेनन्, निर्यात पनि अघिक बढाएका छन् । युरोपले रुसको प्रशोधित तेल भारत र चीनबाट खरिद गरिरहेको छ । युरोपको यस्तो अडानका कारण रुसविरुद्धको प्रतिबन्ध कमजोर भइरहेको भारतीय र चिनियाँहरुको बुझाई छ ।
युरोपले रुसबाट तेल खरिद गर्न प्रतिबन्ध लगाएपछि रुसले भारत र चीनलाई सस्तो तेल बेच्न थालेको छ । जसका कारण रुसबाट दुवै देशको तेल आयात बढेको छ । रुसबाट सस्तो तेल किनेर प्रशोधन गरी युरोपलगायत अन्य जी–७ देशलाई बेचेर भारतले नाफा कमाइरहेको छ । भारतसँगै चीन, सिंगापुर, युएई र टर्कीले पनि यसरी नै पैसा कमाइरहेका छन् । रुसको फोहोर तेल सफा गरेर भारतसहित यी पाँच देशले युरोपलाई सफा तेल दिइरहेको भन्दै यी देशहरुमाथि आलोचना पनि गरिएको छ ।
युक्रेन युद्धपछि यी देशहरूले रुसबाट ठूलो मात्रामा तेल आयात गर्दै आएका छन्। रुसबाट चीनको तेल आयात एक वर्षमा ३९.८ मिलियन टनबाट बढेर ५७.७ मिलियन टन पुगेको छ । यससँगै रुसबाट भारतको तेल आयात पनि पछिल्लो एक वर्षमा ३०.८५ लाख टनबाट बढेर ५५.९ मिलियन टन पुगेको छ । रुसबाट चीन, भारत, सिंगापुर, युएई र टर्कीमा तेल आयात १४० प्रतिशतले बढेको छ । यी देशहरूले रुसी तेल खरिद गरी घरमै रिफाइन गरी मूल्य ‘क्याप’ गठबन्धन देशहरूमा निर्यात गरिरहेका छन्। रूस विरुद्ध कच्चा तेल आयात प्रतिबन्ध डिसेम्बर ५, २०२२ मा सुरु भयो, र मूल्य ‘क्याप’ नीति यस वर्ष फेब्रुअरी २४ देखि लागू गरिएको थियो।
यस अवधिमा प्राइस ‘क्याप’ गठबन्धन देशहरूले रुसी देशको तेल आयात गर्ने देशहरूबाट १२.९ मिलियन टन तेल खरिद गरेका छन्। डिसेम्बर–जनवरी २०२३ मा, मूल्य ‘क्याप’ गठबन्धन देशहरूले पाँच देशहरूबाट सबैभन्दा बढी रूसी तेल खरिद गरेका थिए। प्रतिवेदनका अनुसार मूल्य ‘क्याप’ लगाएपछि भारतले सबैभन्दा बढी रुसी तेल युरोपलाई बेचेको छ । भारतले मूल्य ‘क्याप’ गठबन्धन देशहरूलाई ३०.७ टन तेल बेचेको छ।
यसपछि चीनले युरोपलाई ३० लाख टन रुसी तेल बेचेको छ । पछिल्लो एक वर्षमा युरोपेली संघले सबैभन्दा बढी २ करोड १० लाख टन तेल भारत चीनलगायतका देशहरुबाट खरिद गरेको छ भने अष्ट्रेलियाले यी देशबाट सबैभन्दा बढी ९ करोड १ लाख टन तेल खरिद गरेको छ । योसँगै अमेरिकाले यी देशहरुबाट ८०.५ लाख टन तेल पनि खरिद गरेको छ ।
युरोपमा प्रशोधित तेल निर्यात गर्ने मामिलामा भारतले साउदी अरबलाई पछि पारेको छ । फेब्रुअरी महिनामा भारतले रुसबाट अत्याधिक कच्चा तेल निर्यात गरेकोले त्यही परिणाममा निर्यात समेत गरेको छ । यो दरलाई हेर्दा भारतले साउदी अरेबियालाई तेल निर्यातमा पछि पारेको छ। इराकले अझै पनि भारतलाई सबैभन्दा बढी तेल पठाउँछ । तर अहिले रुसले इराकले भन्दा बढी तेल निर्यात गरिदिएको छ । भारतले अवसरको फाइदा उठाइरहेको छ र नाफा बढाइरहेको छ ।
#Russia_Ukrine_War #Indian_Oil #India_Profit #Oilinindia #भारत #तेल #इन्धन
प्रतिक्रिया