काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै हेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।
बुधबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो ? यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ’, मन्त्री शर्माले भनिन् ।
सूचना प्रविधिमा पहुँच हुने र नहुनेबीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उनले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् ।
“दूरसञ्चार क्षेत्रमा देखिएका समस्या, कमीकमजोरी, सुधार्नुपर्ने विषय, सूचना प्रविधि क्षेत्रबाट राजस्व सङ्कलन गर्ने, ‘डिजिटल डिभाइड’ कम गर्ने, दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नेलगायत विषयमा सम्मेलनमा घनिभूत छलफल हुनुपर्छ, विगतमा के–के भए त्यसको समीक्षा हुनुपर्छ”, उनले भनिन् ।
उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताइन् ।
सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ र ‘इन्टरनेटको वर्तमान अवस्था र भविष्यको आवश्यकता’लगायत तीन सत्रका विभिन्न विषयमा विज्ञसँग अन्तरक्रिया गरिने प्राधिकरणका निर्देशक दीपेश आचार्यले जानकारी दिए ।
सम्मेलनमा ‘अतिकम विकसित मुलुकमा दूरसञ्चारको बजारः चुनौती र आगामी बाटो’, ‘नेपालको सूचना प्रविधि बजारको वर्तमान अवस्था’, ‘नेपालको दूरसञ्चार बजारको विश्लेषण र डिजिटल अर्थतन्त्रमा यसको भूमिका’, ‘नेपालमा फाइभ-जीको बाटो’, ‘विकसित मुलुकमा फाइभ–जीको अभ्यास’, ‘नेपालमा फाइभ–जीको बजार’लगायत विषयमा वक्ताहरुले प्रस्तुति दिदिनेछन् ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सूचना प्रविधिको आविष्कारलाई मुलुकको आर्थिक समृद्धि, सामाजिक जीवनको उन्नतिका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए । डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ थियो ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको आर्थिक विकासमा डिजिटल रुपान्तरणले सहयोग पुर्याएको जनाउँदै दीर्घकालीन पूर्वाधार निर्माणमा प्राधिरकण जुटेको बताए ।





















प्रतिक्रिया