Logo

बागमती प्रदेश

रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी काम चरणवद्ध रूपमा हुन्छ : मेयर शाक्य



काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भए पनि निर्माण गर्न बाँकी रहेका कामलाई चरणवद्ध रूपमा अगाडि बढाउने भएको छ। 

महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्यले रानीपोखरी गुरूयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रूपमा निर्माण गरिने बताए। रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पाटीलगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ।

त्यस्तै गुरूयोजनाअन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिवाटिका, रत्नपार्कलगायतलाई समावेश गरी बृहत रानीपोखरीको रूपमा विकास गरिने मेयर शाक्यले बताए। यी कामहरू एकैसाथ गर्नेभन्दा पनि चरणवद्ध रूपमा अगाडि बढाउने रणनीतिअनुसार काम भइराखेको पनि उनले बताए। 

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुननिर्माणको क्रममा आधुनिक शैलीमा बनाउन लागिएको भन्दै विवाद भएको थियो। तर पछि विज्ञहरूको सुझावअनुसार भूकम्पअघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ। 

रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको कामबाहेक महानगरपालिकाले बनाएको गुरूयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ। मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रूपमा नागरिकको लागि खुल्ला हुनेछ।तर पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिनमात्रै खुल्ला खुल्नेछ।
 

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  २ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।