एजेन्सी । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले थ्रेड्स् नामको नयाँ एप सञ्चालनमा ल्याएको छ। विज्ञहरूले यो एपले ट्विटरमा आएका पछिल्ला परिवर्तनका कारण चित्त नबुझेका प्रयोगकर्ताहरूलाई आकर्षक गर्न सक्ने बताएका छन्।
यो एप हाल नेपाल सहित १०० वटा देशमा डाउनलोडका लागि उपलब्ध छ। तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा यो उपलब्ध भइसकेको छैन। यसमा प्रयोगकर्ताहरूले ५०० अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् र अरू धेरै विशेषताहरू पनि ट्विटरसँग मिल्दाजुल्दा छन्।
तर प्रतिस्पर्धीहरूले यो एपले सङ्कलन गर्ने डेटाबारे आलोचना गरेका छन्। मेटाले यो एपलाई “सुरुआती संस्करण” भनेको छ। यसमा मास्टोडन जस्ता अन्य सामाजिक सञ्जाल जस्तै मानिसहरूसँग अन्तर्क्रिया गर्ने सुविधाहरू पनि थप गरिने बताइएको छ।
यो छुट्टै एप भए पनि प्रयोगकर्ताहरूले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन्। यसले खाता खोल्दा उनीहरूले इन्स्ट्राग्राममा प्रयोग गरिरहेकै युजरनेम कायम रहन्छ तर थ्रेड्स्का लागि प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा रहने आफ्नो विवरण परिवर्तन पनि गर्न सक्छन्।
मेटाका अनुसार उनीहरूले इन्स्टाग्राममा फलो गरिरहेको मानिसहरूलाई थ्रेड्स्मा कायम राख्ने विकल्प पनि दिइन्छ। तर ट्विटरका असन्तुष्ट प्रयोगकर्ताहरू मेटाले सञ्चालन गरेको एपमा जान्छन् वा जाँदैनन् त्यो प्रस्ट छैन। अहिले पनि ब्लूस्काई र मास्टोडन जस्ता ट्विटरका धेरै विकल्प उपलब्ध छन्। यद्यपि थ्रेड्स् करोडौँ मानिसहरू यसअघिनै प्रयोगकर्ता रहेको इन्टाग्रामसँग सिधै जोडिएका कारण यसलाई प्रत्यक्ष लाभ छ।
थ्रेड्स्मा कुनै पनि पोस्ट दुई वटा एप बीच सहजै सेअर गर्न सकिन्छ र उक्त पोस्टमा लिङ्क, तस्बिर र पाँच मिनेटसम्मको भिडिओ हाल्न सकिन्छ। प्रयोगकर्ताहरूले आफूले फलो गरेका र एपबाट सिफारिस भएका पोस्टहरू हेर्न पाउँछन् जसलाई मेटाले थ्रेड्स् भनेको छ।
यसमा आफूलाई मेन्सन गर्नेहरू छान्न र पोस्टमा आउने रिप्लाईमा निश्चित शब्दहरू फिल्टर गर्न सकिन्छ। यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिन्छ। इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्स्मा स्वतः ब्लक हुन्छन्। मेटाको थ्रेड्स् एप नि:शुल्क रहेको र त्यसमा जति पनि पोस्ट गर्न पाइने जस्तो देखिएको छ।





















प्रतिक्रिया