काठमाडौं । संसद्को नियमित काममा सहयोग पुर्याउन र सरकारलाई निगरानी गर्न संसद् मातहत विषयगत समिति गठन गरिन्छ । प्रतिनिधिसभाअन्तर्गत मात्रै १० वटा विषयगत समिति छन् । यी सबै समितिका सभापतिहरुको नियुक्ति आज भइसकेको छ ।
यी समितिमध्ये सबैभन्दा शक्तिशाली राज्य व्यवस्था तथा सुशासन समितिलाई मान्ने गरिन्छ । यो समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्वाचित भएका छन् । कार्यक्षेत्रका आधारमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग र शान्ति प्रक्रियासमेतको कामकारबाहीमा ध्यान पुर्याउने जिम्मेवारी संविधानले दिएको छ । त्यसकारण राज्य व्यवस्था तथा सुशासन समितिलाई सबैभन्दा शक्तिशाली समिति मानिन्छ ।
विगतमा यो समितिमाथि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लाग्ने गरेको छ । संसदबाट समितिका सभापति निर्वाचित भइरहँदा यो समितिलाई प्रभावकारी बनाउनुपर्ने आवाज पनि सँगसँगै उठिरहेको छ ।
शक्तिशाली मन्त्रालय र संवैधानिक अंगका काम कारबाहीको अनुगमन गर्ने तथा तिनका काम प्रभावकारी बनाउन निर्देशन दिने अधिकार यो समितिलाई छ । समितिको क्षेत्राधिकार फराकिलो रहे पनि यसले दिने निर्देशन र त्यसको पालनाको अवस्था भने कमजोर छ । कतिपय अवस्थामा त सरकारले यो समितिलाई नै बेवास्ता गर्ने गरेको छ ।
अघिल्ला कार्यकालहरुमा यस समितिले नेपालको चुच्चे नक्सा पाठ्यक्रममा समावेश गर्न, नेपाल भारत सीमामा तारबार गर्ने र कोरोना महामारी रोक्नलगायतका निर्देशन सरकारलाई दिएकोे थियो । त्यस्तै संघीय निजामती कर्मचारी ऐन र नागरिकतासम्बन्धी ऐन संशोधनलगायतको विषयमा यही समितिमा लामै छलफल भएको थियो । यी कतिपय निर्देशन त सरकारले सुन्दै नसुनेर टारिदिएको देखिन्छ ।
सरकारसँगको निकटता र समितिकै सदस्यहरुको स्वार्थलगायत कारणले पनि समितिको काम प्रभावित हुने गरेको छ । मिनी संसदका रुपमा लिइने संसदीय समितिको निर्देशन पालना सरकारका लागि अनिवार्य हुन्छ । त्यसका लागि समिति पनि आफ्नो क्षेत्राधिकार र दायित्वप्रति स्पष्ट हुनुपर्दछ ।
यो समितिमा आजै निर्वाचित भएका समितिका सभापति रामहरी खतिवडासँग अनलाइन पानाकर्मी रामचन्द्र मिश्रले राज्य व्यवस्थाको कामको प्रभावकारिताका विषयमा केन्द्रीत रहेर गरेको सम्बादको सम्पादित अंश यहाँ उल्लेख गरिएको छ ।
शक्तिशाली मानिने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्नुभएको छ । सर्वप्रथम यहाँले कुन पक्षमा जोड दिएर काम गर्नुहुन्छ ?
नाम नै सुशासन समिति छ । सुशासनमै जोड दिएर काम गर्छु ।
शक्तिशाली मन्त्रालय र संवैधानिक अंगका काम कारबाही अनुगमन गर्ने र तिनका काम प्रभावकारी बनाउन निर्देशन दिने अधिकार यहाँलाई प्राप्त भएको छ । पहिला पनि यो समितिका निर्देशन पालना कमजोर भएको र सरकारले नै समितिलाई बेवास्ता गरेको कतिपय समितिका सदस्यहरु आफैँ बताउँथे । यहाँले चाहिँ निर्देशन कार्यान्वयन गराउन सक्नुहोला त ?
सरकारले कानुनमा उल्लेख भएका अंगहरुको निर्देशन कार्यान्वयन गर्दैन भने सरकारको निर्देशन चाहिँ पालना होला त ! त्यसैले सरकारले पनि पालना गर्नुपर्दछ र सरकारले दिएका निर्देशन पनि अरुले पालना गर्नुपर्दछ । त्यसैले सरकारले दिएको निर्देशन पालना गर्नुपर्ने तर अरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भएन भने त सुशासन कायम भएन नि !
त्यसैले सरकार कहिलेकाहीँ कानुनभन्दा पनि बाहिर जान सक्छ । यो बेलामा यस्तै विषयलाई समायोजन गरी लैजनालाई हामीले मिनि पाल्र्यामेन्टको रुपमा विषयगत समितिहरु गठन गरेका हौं । हामी एक न त सरकारको विरोधीका रुपमा देखा पर्दछौं न त सरकारको समर्थकका रुपमा देखा पर्दछौं । केबल जनताको पक्षमा काम गर्न गरी हामी निर्वाचित भएका हौं । यदि सरकारले जनताको पक्षमा काम गरेन भने हामी बोलाएर छलफल गरेर हामी जनताको पक्षमा काम गर्ने वातावरण बनाउने काम हाम्रो हुन्छ ।
सरकारसँग समितिमा आवद्ध सदस्यहरुको निकटता र सदस्यहरुको स्वार्थका कारण पनि समितिका कामहरु प्रभावकारी नहुने गरेको अघिल्ला समितिहरुमा आरोप लाग्ने गरेको छ । यस्ता आरोपबाट मुक्त हुने गरी काम गर्न सक्नुहोला ?
हामी सरकारसँग मात्रै होइन । दलसँगको हाम्रो निकटता एक ठाउँमा रहन्छ । तर सधैँ जाति र पार्टी हेरेर मात्रै मुलुक निर्माण गर्न सकिँदैन । समितिमा सबै दलका साथीहरु प्रतिनिधित्व गर्नुहुन्छ । त्यसैले, दलभन्दा पनि माथि उठेर पार्टीभन्दा माथि उठेर, जातीभन्दा माथि उठेर हामी सबैसँग सल्लाह गरेर काम गर्न चाहन्छौं । मेरो र तेरो विषय होइन यो । हाम्रो र राम्रो बनाएर लिएर जान चाहन्छौं ।
सरकारलाई सही दिशामा हिडाउँन यहाँले नेतृत्व गरेको समितिको भूमिका महत्वपूर्ण मानिन्छ । फेरि अहिले भ्रष्टाचार, सुशासनलगायतका विषयमा सरकार विवादमा तानिँदै पनि गएको छ । यहाँहरुको समितिको काम कारबाहीले सरकारलाई सही दिशा दिन, निष्पक्ष बनाउन सक्ला ?
नसक्ने भए यो समितिमा आउने नै थिइनँ । पार्टीले मलाई यो समितिको जिम्मेवारीमा पठाएको छ । म एकदम इमान्दारीताका साथ यो र त्यो नगरिकन व्यक्तिगत लोभलालचमा नफसिकन इमान्दारिताका साथ काम गर्छु ।
















प्रतिक्रिया