इलाम । माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले यसअघि पाएको ‘इन्टिग्रिटी आइकन’ अवार्ड खोसिएको छ।
लेखा शाखाकी एक कर्मचारीसँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि राईले सन् २०१९ मा पाएको ‘इन्टिग्रिटी आइकन’ अवार्ड खोसिएको हो। एकाउन्टिबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको जानकारी दिएका छन्। अवार्ड पाएपछि राईले नेपालको प्रशासनिक क्षेत्रमा असल आचरण र कुशल कार्यशैलीले अरूलाई पनि प्रेरित गर्ने विश्वास रहेका बेला भिडियोमा बाहिरिएको अमर्यादित कार्यले संस्था स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ।
भिडियो आएपछि एकाउन्टिबिलिटी ल्याबले राईलाई २४ घण्टाभित्र भिडियोमा आएका तथ्यबारे स्पष्ट पार्न भनेको थियो। जबाफमा राईले ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु, समग्र आइकन परिवारलाई पर्न गएको क्षतिका लागि क्षमा चाहन्छु र यस सम्बन्धमा संस्थामार्फत हुने निर्णय मान्य छ’ भन्ने उल्लेख गरेकाे अवार्ड दिने संस्थाले जनाएकाे छ ।
विज्ञप्तिमा राईले कार्यक्षेत्रमा अमर्यादित व्यवहार गरेको भन्दै त्यसपछि खेद व्यक्त गरिएको छ। राई इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनलाई ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ प्रदान गरिएको थियो। सन् २०१४ यता प्रत्येक वर्ष पाँच कर्मचारीलाई यो अवार्ड प्रदान गरिन्छ। अहिलेसम्म ४५ जनालाई अवार्ड प्रदान गरिएको संस्थाका सहायक निर्देशक सुरेश पन्तले बताए।
‘यो अवार्डको निश्चित मापदण्ड र नियम छ, त्यसअन्तर्गत जसले यो अवार्ड पाउँछ, त्यसले ‘कुनैपनि अनैतिक गतिविधि, व्यवहार र आचरण मबाट हुने छैन’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेकाे हुन्छ,’ पन्तले भने । त्यही कारण राईले अवार्ड लिँदा गरेको प्रतिबद्धता उल्लंघन भएको ठहर गरी अवार्ड रद्द गर्ने निर्णय भएको हो।
















प्रतिक्रिया