Logo

प्रमुख समाचार

सुवासचन्द्र नेम्वाङसँगै धेरैले ‘धेरै’ गुमाए



काठमाडौं । संवत् ०८० भदौ २६ गते मंगलबार । एकाबिहानै संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नरहेको समाचार जताततै छायो । सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट पहिलो पटक यो सूचना प्राप्त गरेका जोकोहीका लागि यो पत्याउन गाह्रो थियो । सदा हँसमुख नेम्वाङ ठिकठाक नै देखिन्थे । यति चाँडो छाडेर सदाका लागि टाढिन्छन् भन्ने सायदैलाई लागेको थियो ।

तर उज्यालो हुन नपाई फैलिएको त्यो समाचार सत्य थियो । हृदयघातका कारण उनको निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई हृदयघात भएपछि उपचारका लागि राति साढे १ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरे । नेपाली राजनीतिका ‘सहमति र सहकार्य’दाता नेम्वाङको निधनको खबर सुनेलगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू पनि अस्पताल पुगेका थिए ।

अचानक नेम्वाङको निधनको खबरले समग्र राजनीतिक वृत्त नै तरंगित बन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए । नेम्वाङले देश र जनताको लागि पुर्‍याएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आफ्नो मियो ढलेको अनुभूत गरेको एमालेले नेम्वाङको निधनको शोकमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने तथा सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गर्ने निणर्य गरेको छ । पार्टी कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकले यो निर्णय गरेको हो । नेम्वाङ बस्ने कुर्सीमा फूलको माला राखेर बैठक सञ्चालन भएको थियो ।

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर आज पार्टी मुख्यालय च्यासलमा राखिएको छ । श्रद्धाञ्जली अर्पण गर्ने क्रममा एमाले अध्यक्ष ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झन्डा ओढाए भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झन्डा ओढाइन् । सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न सबै तहतप्काका व्यक्तिहरू पुगे । श्रद्धाञ्जली अर्पण गर्ने क्रममा धेरैकाे आँसु राेकिएन ।

नेम्वाङले पुर्‍याएका योगदान, उनका स्वभाव तथा आनिबानी, उनीसँगका सम्बन्धबारे उल्लेख गर्दै आफन्त, शुचिन्तकहरूले श्रद्धा–सुमन अर्पण गरे । भौतिक रुपमा नेम्वाङलाई गुमाउँदै गर्दा धेरैले उनले संविधान निर्माण तथा जारी गर्नेबेला लिएका अग्रसरता, खेलेका भूमिका, उनका विज्ञता, सादगीपन र सरलतालाई ताजा बनाउने प्रयास गरेका छन् ।

नेम्वाङ आफूलाई चित्त नबुझेको विषय सभ्य र शिष्ट भएर घुमौरो पारामा व्यक्त गर्थे । विपक्षी हुन् या आफू पक्षीय, उनले कहिल्यै कसैममाथि खह्रो शब्द प्रयोग गरेर कटाक्ष गरेनन् । आवेशमा आएनन् । फलस्वरुप नेम्वाङ दुई वटा संविधासभाका अध्यक्षसहित ४ पटक सर्वसम्मत सभामुख बने । उनीविरुद्ध आफ्ना उम्मेदवार खडा गर्न कुनै दलले जरुरी ठानेनन् । उनी २०६३ मा पुनःस्थापित प्रतिनिधिसभा, २०६३ मा अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद्, २०६५ मा संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् तथा २०७० को दोस्रो संविधानसभा गरेर चार पटक सभामुखको जिम्मेवारी सम्हाले । यसक्रममा फरक–फरक विचारधारा बोकेका विभिन्न दलहरूलाई मिलाएर संविधान निर्माण तथा जारी गर्ने ठाउँसम्म ल्याउने काम सहज पक्कै थिएन । तर नेम्वाङकाे काैशलतासामू त्यो काम सामान्य सावित भयाे । त्यसबाट उनले आफूलाई सिद्धहस्त प्रमाणित गरे ।

नेम्वाङको अग्रसरतामा संविधान जारी नभएको भए आज मुलुक अर्कै स्थितिमा गुज्रिरहेको पनि हुन सक्थ्यो । विदेशीको चर्को धम्की, प्रलोभन तथा तत्कालीन राष्ट्रपति रामवरण यादव स्वंयको अनिच्छा, तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको आनाकानी र देशभित्रकै कपितय विरोधी शक्तिको दबाबकाे प्रवाह नगरी २०७२ असोज ३ गते नेम्वाङले संविधान जारी गरेरै छाड्ने अठाेट गरे । जुन, इतिहासको पानामा दस्तावेजीकरण भइसकेको छ । यसर्थ आज संविधानले आफ्नो जन्मदाता गुमायो । तर याे भन्दै गर्दा नेम्वाङको कदममा संविधान मस्यौदा समितिका तत्कालीन सभापति कृष्णप्रसाद सिटौलाको साथ पनि बिर्सनु हुन्न, सिटाैलाले मात्र पार्टीका नेता तथा साथीभाइलाई सुनेका भए पनि संविधान जारी असम्भव हुन सक्थ्याे ।

दशौँ राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका नेम्वाङ पार्टीले गलत गरेको बेला खबरदारी गर्न पनि पछि हट्दैनथे। केही समयअघि मात्र एमालेले निरन्तर संसद् अवरोध गर्दा उनले त्यसलाई लगत भनेका थिए । तर नेतृत्वको चाहनालाई पनि सम्मान गर्थे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दा उनी नेतृत्वको चाहनाको कदर गरेर मौन बसे । तर त्यसअघि नै उनले सरकार बन्ने सम्भावना रहेसम्म संसद् विघटन हुन नसक्ने कुरा स्पष्ट भनिसकेका थिए । पार्टीले गलत गर्दा गलत भन्ने, नेतृत्वको सम्मान पनि गर्ने अनि पार्टीलाई अफ्ठ्यारो पर्दा सधैँ पार लाउन अग्रसर हुने नेम्वाङलाई एमालेले गुमायो । एमाले विभाजनलाई नेम्वाङले कहिल्यै सामान्य रुपमा लिएनन् । पार्टी टुक्रिएकाेप्रति उनी सधैँ दु:खी थिए/देखिन्थे ।

संसद् र संसदीय मामिलाका ज्ञाता नेम्वाङले सञ्चारकमीलाई संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच चलेकाे बहस, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँथे । पुष्ट्याइँका लागि सहयोगसमेत गर्थे । उनको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो । बिनाभेद्भाव उनले सबैलाई सरल रुपमा सूचना उपलब्ध गराउँथे । उनीसँग भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । यसर्थ नेम्वाङको निधनसँगै सञ्चारमाध्यम तथा सञ्चारकर्मीले आफ्नो सूचनाको प्रमुख स्रोत गुमाए ।

२०४८ र २०५२ सालमा दुई पटक राष्ट्रियसभा सदस्य रहेका उनी २०५१ सालमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री बने । त्यसबखत उनले मुुलुकमा कानूनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेलेका थिए । उनी जनतामाझ कति लोकप्रिय थिए भन्ने कुराको पुष्टि पटक–पटक प्रत्यक्ष रुपमा निर्वाचित भएका तथ्यबाट पुष्टि हुन्छ । उनी २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएर सांसद बने । ती निर्वाचन क्षेत्रका जनताले आज आफ्नो प्रिय नेता गुमाए । आफूहरूलाई सुनिदिने, बाेलिदिने प्रतिनिधि गुमाए । पटक–पटक सार्वजनिक पदमा पुगेर पनि कहिल्यै कालो धब्बा नलागेका स्वच्छ छविका नेम्वाङसँगै नेपाली जनताले एउटा इमान्दार नेता गुमाए ।

नेम्वाङ प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन सक्रिय थिए । अब शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उनको यो सपना अधुरै रह्यो । यसर्थ द्वन्द्वपीडितहरूले मलम हाल्न पहल गर्ने पहलकर्ता गुमाए । समग्रमा नेम्वाङको निधनसँगै धेरैले धेरै कुरा गुमाए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार २०:०८   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।