दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए ।
राष्ट्रपति पौडेलले भने, “देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।” सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गरे ।
संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भने, “परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।” सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरे ।
व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताए । उनले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राखे । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने धारणा राखे । उनले भने, “दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।”
सो अवसरमा शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरे । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको उल्लेख गरे ।
प्रतिक्रिया