Logo

अन्तर्राष्ट्रिय

दशैंमा विदेशबाट घर आउँदै हुनुहुन्छ के ल्याउने के नल्याउने ? जान्नैपर्ने कुरा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने र नपाउने सामानबारे जानकारी गराएको छ ।

भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले एक विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएका छन् ।

चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीले अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ ।

मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने यात्रु भन्सार तथा प्रहरीको कारबाहीमा परेमा त्यस्तो मालवस्तु त जफत हुन्छ नै सोही मूल्य बराबरको धरौटी तिर्नुपर्छ। जरिवाना र कैद पनि हुन्छ ।

त्यसैले कतिपय यात्रु गल्ती थाहा नपाई भन्सार तथा प्रहरीको अनुसन्धानमा पर्ने गरेकोले भन्सार कार्यालयले यसबारेमा जानकारी गराएको हो ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ ? के पाइँदैन ?

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी ल्याउन पाउने सामानको सूची तथा मात्रा परिवर्तन गरिएको छ ।

पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसै गरी पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

त्यस्तै एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ ।

तर, गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता दिइएको छैन । यसरी लिएमा भने कारबाहीमा परिन्छ ।

मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भने भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।

तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाइन्छ । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था छ ।

यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ०६:०६   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।