एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गरेका छन् । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण सुरु गरेका हुन् ।
उनले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । त्यसपछि उनले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नेछन् ।
गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजराइलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै विदेशमन्त्री ब्लिङ्केनले बिहीबारको दिन तेल अविवमा बिताए । हमासको उक्त आक्रमणमा इजराइलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ ।
हमासको आक्रमणपछि इजराइलले गाजापट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ । साथै इजराइलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ ।
“द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौँ”, तेल अविवमा बिहीबार अबेर ब्लिङ्केनले भने ।
हमासको आक्रमणभन्दा केही साताअघि साउदी अरेबियाले इजराइलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने अमेरिकी नेतृत्वको कूटनीतिको प्रगतिबारे उल्लेख गरेको थियो । इस्लामहरूको दुई पवित्र स्थलको संरक्षकसमेत रहेको रूढिवादी साउदी अरेबियाका लागि उक्त कूटनीतिक प्रयास ऐतिहासिक कदम हो ।





















प्रतिक्रिया