काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरू हुँदैछ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । आजदेखि सुरु हुने महाधिवेशन तथा विश्व सम्मेलन कात्तिक ३ गते समापन हुनेछ ।
एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ । सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनकै क्रममा मंगलवार र बुधवार विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।
यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।
संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ ।
एनआरएनएको अध्यक्ष पदका लागि ४ आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका एनआरएनए सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ ।
यसैगरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५ जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको उम्मेदवारी परेको छ ।
महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । सन् २००३ अगस्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोबरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो ।
संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।





















प्रतिक्रिया