Logo

कर्णाली प्रदेश

हामीलाई तत्काल उद्धारकर्ता र स्वास्थ्यकर्मी आवश्यक छ : नलगाढ नगरप्रमुख रावत



काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पले त्यहाँ ठूलो क्षति भएको छ । नगलगाढ नगरपालिका र आसपासका क्षेत्रमा धेरै क्षति भएको प्रहरीले जनाएको छ ।

नगरगाड नगरपालिकाले उपप्रमुख सरिता ससिंहलाई पनि गुमाएको छ । गएरातिको भूकम्पले हाम्रा नलगाढ नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म मैले पाएको सूचना अनुसार, सबैजसो वडाहरुमा घर भत्केकाले घाइतेहरुको उद्धार हुन सकेको छैन ।

हाम्रो नगरपालिकामा मात्रै ३० जनाभन्दा बढीको ज्यान तलमाथि भएको कुरा आएको छ, बिहान उज्यालो नभइ अरु कुरा पुष्टि हुनसक्ने भएन ।

नगरपालिकाको उपप्रमुख सरिता सिंह काम विशेषले पल्लो (भेरी नगरपालिका) मा जानुभएको थियो । उहाँ बसेको घर भत्किएकाले दुस्खद घटना भएको सुन्नुपरेको छ । उहाँ र साथमा भएका अर्को सहयोगी पनि भत्किएको घरमा परेको कुरा छ ।

हाम्रो नगरपालिकाको १, ३, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको खबर आइरहेको छ । मानिसहरु पहिलो निद्रामा रहेको अवस्थामा भूकम्प आएकाले भाग्न र ज्यान जोगाउन कठिन भयो भनिरहेका छन् ।

केही ठाँउमा पहिरो खसेकाले उद्दारमा जान र घाइतेहरुलाई स्वास्थ्यचौकीमा ल्याउन कठिनाई भइरहेको खवर आएको छ । कैयौं ठाँउमा घर भत्किएकाले उद्धार गर्ने बलिया मानिसहरु पाउन कठिनाइ भएको कुरा आएको छ । घटना हुनासाथ प्रहरी र ब्यारेकबाट सेनाको टोली परिचालन भएको छ ।

यहाँका स्वास्थ्य केन्द्र बिरामीले भरिएका छन् । तत्काल भत्किएका घरहरुबाट घाइतेहरुको उद्धार गर्नुपर्ने छ र ढिलाइ भए उनीहरुको ज्यान जोखिममा पर्ने अवस्था छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०६:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।