Logo

अनलाइनपाना खोज

पत्याउनुहुन्छ ! भारी बोक्ने रमेशले जोडेका छन् काठमाडौंमा करोडको घडेरी



काठमाडौं । अहिलेको अवस्थामा काठमाडौंमा घडेरी जोडेर घर बनाउने हैसियत कसले राख्ला ? इमान्दारीपूर्वक काम गरेर सामान्यतयाः उच्च पदस्थ सरकारी कर्मचारी, राम्रो कमाई हुने ठाउँमा वैदेशिक रोजगारमा गएका नेपाली कामदार, विभिन्न अन्तर्राष्ट्रिय नियोगहरुमा काम गरेका नेपाली, व्यापारी तथा उच्च पदमा पुगेका राजनीतिक दलहरुले काठमाडौंमा घर जग्गा जोड्ने हैसित राख्नु सामान्य नै हो । तर अहिलेकाे अवस्थामा उनीहरूलाई पनि काठमाडौंमा घर घडेरी जोड्न वर्षौंको मेहनत लाग्छ ।

अनि काठमाडाैंमा बसाेबास गर्न थालेपछि घर र घडेरी जाेड्ने मन सबैकाे हुन्छ । पुर्ख्याैली सम्पत्ति हुनेहरूले काठमाडाैंभन्दा बाहिर रहेकाे पुर्ख्याैली सम्पत्तिसमेत बेचेर काठमाडाैंमा घर घडेरी जाेड्ने गर्छन् । कतिले बिचाैलियाकाे काम गरेर पैसा कमाएर भए पनि काठमाडाैंमा घर जाेड्छन् । कतिले धेरैतिर जागिर गरेर र कमाएकाे पैसा लगानी गरेर पनि काठमाडाैंमा जग्गा जमिन जाेड्ने गर्छन् । भ्रष्टचार गर्नेहरूकाे त कुरा गर्नै परेन ।

काठमाडौं यस्ताे ठाउँ भएकाे छ, जहाँ अवसर खाेजेर जागिर खानेले भन्दा चट्‍पट् बेच्ने र सडक व्यापार गर्नेले राम्राे कमाई गरिरहेका हुन्छन् । काठमाडाैं भरियाहरूकाे लागि पनि सपनाकाे सहर हाे । काठमाडाैंकाे बाैंद्ध, असन, न्युराेडलगायत व्यापारिक क्षेत्रमा रहेका हाेलसेल पसलहरू चाहारेर विभिन्न जिल्लाबाट आएका व्यापारीले खरिद गरेकाे समान गाडीसम्म पुर्‍याइदिने काम भरियाहरूले गरिरहेका हुन्छन् । उनीहरूलाई त्यही काम गरेवापत व्यापारीहरुले केही पैसा दिन्छन् । भरियाहरूले त्यही पैसाले आफ्नाे गुजारा टार्छन् । यसरी कमाएकाे पैसा कत्ति हाेला र ? तर अचम्म ! यसरी भारी बाेकेरै एक भरियाले काठमाडाैंमा घडेरी किनेका छन् ।

काठमाडाैंमा भरियाले पनि कराेडाैंकाे घडेरी किनेका छन् भन्दा  तपाईँलाई अचम्म लाग्न सक्ला ! ती भरियाले इमान्दारीपूर्वक भारी बाेकेरै काठमाडौंमा घडेरी जोडेका हुन् । उनी अझै भारी नै बोकिरहेका छन् र परिवारलाई काठमाडौंमा पालनपोषण, छाेरा छाेरीकाे पठनपठान पनि गराइरहेका छन्  ।  यहाँको महंगीसँग जुध्दै काठमाडौंको बौद्धमा भारी बोक्ने ओखलढुंगा चम्पादेवीका रमेश कार्कीले काठमाडौंमा एक करोडकाे घडेरी जोड्न सफल भएका  हुन्।

काठमाडाैंमा भरियाले पनि कराेडाैंकाे घडेरी किनेका छन् भन्दा  तपाईँलाई अचम्म लाग्न सक्ला ! ती भरियाले इमान्दारीपूर्वक भारी बाेकेरै काठमाडौंमा घडेरी जोडेका हुन् ।

वि.सं. २०५० सालमा काठमाडौं छिरेका उनले सुरुवाती दिनमा सुरक्षा गार्डको काम गर्थे । तर सुरक्षा गार्डको काम गरेर आएको पैसाले दैनिकी चलाउनै धौ-धौ परेपछि रमेश त्यो काम छाडेर भारी बोक्ने पेसामा लागे ।आत्मविश्वासका साथ निरन्तर मेहनत र संघर्ष गरे असम्भव के नै छ र भन्ने तथ्यलाई आत्मसाथ गर्दै रमेशले भारी बोकेरै कोठमाडौंको आलापोटमा चार आना जग्गा जोडेका हुन् । उनकाे जग्गालाई अहिले कराेड दिने अफरहरू आइरहेकाे छ ।

रमेशले उक्त जग्गा काठमाडौंमा करिब १० वर्ष संघर्ष गरेपछि २० वर्ष पहिले नै किनेका हुन् । तत्कालीन समयमा उनले प्रतिआना पाँच लाख रुपैयाँमा किनेकाे जग्गा अहिले आनाकाे बीस लाखभन्दा बढी पुगेको हो । ‘२०५० सालमा काठमाडौं आएर अनेक दुःख गरेर अलिअलि गरेर कमाइएको पैसा बचत गरेकाे थिएँ। त्यसमा साथीभाइसँग आधउधी ऋण थपेर मैले २०६० सालमा किनेको जग्गा हो । २० वर्ष भयो’, उनी भन्छन्, ‘अहिले कराेडसम्मकाे अफर आएकाे छ ।’

जग्गा खरिद गरेकोबखत लिएको केही साथीभाइको ६ लाख रुपैयाँ ऋण तिर्न अहिले पनि बाकी रहेको रमेश बताउँछन् । ‘६ लाख जति ऋण तिर्न अझै बाँकी छ । एक वर्षमा एक लाख बराबर २५ हजारको दरले अहिले पनि ब्याज तिररहेको छु ।’

रमेश झन्डै करोड रुपैयाँको मालिक बन्न लागेपनि उनको जीवनशैली र दैनिकी भने सामान्य नै छ । अहिले पनि उनी हरेक दिन काठमाडौंको बौद्ध क्षेत्रमा हातमा नाम्लो लिएर पुग्छन्, दिनभर पसिना बगाउँछन् र साँझ डेरामा फर्कन्छन् ।

सुरुवाती दिनमा सुरक्षा गार्डको काम गरेर आएको पैसाले दैनिकी चलाउनै धौ–धौ परेपछि रमेश त्यो काम छाडेर भारी बोक्ने काममा लागेका थिए । विगतलाई सम्झँदै उनी भन्छन्– ‘सुरुमा डिल्लीबजारतिर गार्डको काम गर्थेँ । महिनामा जम्मा पाँच/सात हजार रुपैयाँ आउँथ्यो । त्यसले खान र पछि बच्चाबच्चीलाई बढाउनै पुगेन । त्यसपछि यही भारीसारी बोक्नतिर लागियो । यहीबाट पो हुने रहेछ भन्ने भयो । अहिले पनि यही गरिँदैछ ।’

सुरुवाती दिनमा सुरक्षा गार्डको काम गरेर आएको पैसाले दैनिकी चलाउनै धौ–धौ परेपछि रमेश त्यो काम छाडेर भारी बोक्ने काममा लागेका थिए ।

३९ वर्षीय रमेशका तीन छोरी र दुई छोरा छन् । अहिले दुई जना कक्षा १२ मा पढ्दैछन् भने एक जना १० तथा दुई जना ७ मा पढ्दैछन् । देशको अवस्था र शिक्षा प्रणालीबारे दिक्क मान्दै रमेश भन्छन्– ‘उनीहरूले जति पढेपनि, पढाएपनि भनेजस्तो राम्रो जागिर पाउँदैनन् । के गर्नू !’

पढाएपछि पनि छोराछोरीबाट ठूलो अपेक्षा गर्ने ठाउँ नरहेको भन्दै अहिले पनि निरन्तर भारी बोक्ने काम गर्दै आएको रमेश बताउँछन् । तर भारी बोक्ने कामसमेत पछिल्लो समय पाउन छाडिएको उनी गुनासाे गर्छन् । कोरोना महामारीपछि बिग्रेको कामको लय अझै पूर्ण रुपमा सुधार भइनसकेको उनको भनाइ छ ।

रमेशका अनुसार लकडाउनअघि दैनिक १५ सय कमाई टुट्दैनथ्यो । अझ कुनै दिन त ५/६ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो । ‘कोरोनाभन्दा अगाडि राम्रो काम र कमाई हुन्थ्यो । कुनै दिन त ५/६ हजार रुपैयाँसम्म पनि हुन्थ्यो । तर सधैँ होइन महिनामा एक/दुई दिन त्यसरी कमाई हुन्थ्यो लकडाउनअघिसम्म’, रमेश भन्छन्, ‘अहिले त ऋणको ब्याज तिर्न, खान, कोठाभाडा तिर्न र बच्चाबच्चीको फी तिर्नै गाह्रो छ । पहिलाको जस्तो अहिले काम नै पाइँदैन । कमाइ पनि ४/५ सयदेखि बढीमा ८/९ सय मात्र हुन्छ । अझ कहिले बोहाेनी नै हुँदैन । यतिकै डेरा फर्किनुपर्छ ।’

कतै आफूलाई भारी बोक्न नसक्ने स्थितिमा पुगेमा आफ्नो श्रीमती र बालबच्चाको बिचल्ली हुने चिन्ताले रमेशलाई सताउँछ । ‘दुःख छ, भारी बोकेरै सबै धानिरहेको छु । कतै लडियो, हात खुट्टा मात्रै कतै प्याट्ट भाँचियो भने के हालत होला ! बच्चाहरू स–सानै छन् !’

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार १८:२१   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।