काठमाडौं । दूरसञ्चार सेवा क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका विभिन्न भागमा इन्टरनेट सेवा प्रदान गर्दै आएका ५५ कम्पनीलाई टिकटक सेवा बन्द गरे/नगरेको बारे जानकारी दिन ताकेता गरेको छ ।
प्राधिकरणले सूचना जारी गर्दै टिकटक बन्द नगराएका सेवा प्रदायकहरुको अनुमति पत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने चेतावनी दिएको हो । प्राधिकरणले यसअघि नै सबै सेवा प्रदायकहरुलाई टिकटकको पहुँचमा रोक लगाउन निर्देशन दिईएको स्मरणसमेत सूचनामार्फत गराएको छ ।
प्राधिकरणको अनुगमन महाशाखाले जारी गरेको सूचनामा मुख्यतया काठमाडौं बाहिर इन्टरनेट सेवा प्रदान गर्ने ५५ कम्पनीले अहिलेसम्म सो जानकारी नदिएको भन्दै २४ घण्टाभित्र सो जानकारी उपलब्ध गराउन आग्रह गरेको छ ।
प्राधिकरणले कम्पनीहरूको सूची नै प्रकाशित गरेर यस अवधिमा जवाफ प्राप्त नभएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको हो ।
“नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिइसकेको,” सूचनामा भनिएको छ।
प्राधिकरणले यसअघि मंसिर ५, मंसिर २ र कात्तिक २८ मा सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको टिकटकको पहुँचमा रोक लगाउने निर्णय यथाशीघ्र कार्यान्वयन गराउन, सेवा बन्द गरिएकोबारे जानकारी दिन र चलिरहेको थाहा भए प्राधिकरणलाई सूचना उपलब्ध गराउन आग्रह गरेको थियो । प्राधिकरणले मंगलबार नै प्रेस विज्ञप्तिसमेत जारी गर्दै सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले हालसम्म गरेका कार्यहरूको विवरण पनि सार्वजनिक गरेको छ ।
सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटक पीटीई लिमिटेड, बाइटडान्स लिमिटेड र सीडीएन उपलब्ध गराउने कम्पनीहरूलाई आग्रह गरिसकिएको विज्ञप्तिमा उल्लेख छ । साथै टिकटकमाथिको प्रतिबन्ध विषयमा प्राधिकरणले प्रधानमन्त्री कार्यालयमा एक समीक्षा बैठक आयोजना गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम, एनसेललगायत केही प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीको उपस्थितिमा छलफल गरेको जनाएको छ ।
“हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन नआएकोले २४ घण्टा भित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन यो सूचना प्रकाशन गरिएको छ। संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।”
यसैगरी प्राधिकरणले टिकटकमा पहुँच रोक्नका लागि आफूले गरेको कार्यसहितको बिबरण समेत सार्वजनिक गरेको छ। जसमा टिकटक बन्द गर्ने बारेमा सेवा प्रदायकहरुसँग छलफल गरिएको, सार्वजनिक सूचनामार्फत जानकारी गराईएको फ्रि भीपीएनलगायत नचलाउन प्रयोगकर्ताहरुलाई सचेत गराईएको लगायतका विषयहरु रहेका छन्।
यसैगरी, यस अवधिमा नियामक निकायले पठाएका विभिन्न निरीक्षण टोलीहरु मार्फत नमूना परिक्षणको रुपमा १७ ओटा इन्टरनेट सेवा प्रदायकहरुको निरीक्षण तथा जाँचबुझ गर्दा ६ ओटामा मात्र टिकटक पूर्ण रुपमा बन्द रहेको र बाँकी ११ ओटा सेवा प्रदायकहरुमा टिकटक चलिरहेको पाईएकोले स्पस्टिकरण पेश गर्न पत्राचार गरिएको छ।
त्यस्तै दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा तथा इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनको लागि अनुमति प्राप्त सेवा प्रदायकहरु १३० ओटा रहेकोमा हालसम्म ७० ओटा सेवा प्रदायकहरुले टिकटकको प्रयोग/पहुँचमा रोक लगाइएको भनी जानकारी गराएका उल्लेख छ।





















प्रतिक्रिया