पाँचथर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गरेका छन् । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान यात्राको संज्ञा दिँदै उनले यात्राका बीचमा जनताका आकांक्षा बुझ्ने अवसर प्राप्त भएको बताए ।
झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आज पाँचथरको याङवरक गाउँपालिका वडा नं १ चिवाभञ्ज्याङमा समापन गर्दै उहाँले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताए । “यो यात्रा जोखिम मोल्ने अभियान हो । यात्राले एमालेले अरुले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष ओलीले भने, “यस यात्राले अवान्छित विचार, चिन्तन र क्रियाकलापविरुद्ध सन्देश दिएको छ । सिङ्गो देशलाई सर्वोपरी राखेर, जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सन्देश दिएको छ ।”
अभियानका क्रममा सांस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवर्द्धन गर्ने काम भएको पूर्वप्रधानमन्त्री ओलीले बताए । मध्यपहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै उनले यात्रा पूर्ण रुपमा सफल भएको दाबी गरे ।
राजनीतिक हिसाबले देशको बिग्रदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादी जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको बताउँदै अध्यक्ष ओलीले अन्य दल, सरकार र मुलुकलाई यो अभियानले प्रत्यक्ष प्रभाव पारेको बताए । उनले स्थानीयस्तरका विशेषता, चालचलन, परिचय, आवश्यकता, समस्या र समाधानबारे जानकारी लिने, ध्यानाकर्षण हुँदा एमालेले समाजलाई झनै नजिकबाट बुझ्न सहज भएको, अभियानले एमालेको नीति र कार्यक्रमलाई जनतामा बुझाउन मद्दत मिलेको बताए ।
फरक प्रसङ्गमा उनले देशको राजनीति अहिले अलपत्र र अलमलमा रहेको जिकीर गरे । ओलीले जनता र देशको समय खेर फाल्न, आउँदो पिंढीलाई अन्योलमा राख्ने कामबाट चिर्न अभियानले असाधारण रुपमा सहयोग गरेको बताताए ।
एमाले अध्यक्ष ओलीले अभियानमा सामेल भएका सबै नेता, कार्यकर्ता तथा समर्थकलाई धन्यवाद ज्ञापन गरे । उनले सञ्चार माध्यमले एमालेको अभियानलाई सफल बनाउन विभिन्न कोणबाट ब्याख्या र विश्लेषण गरेर सहयोग गरेकामा समेत धन्यवाद दिए । अध्यक्ष ओलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको घोषणा गरे ।
एमालेको सङ्कल्प यात्रा सम्पन्न
नेकपा (एमाले) ले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज सम्पन्न भएको छ । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गरेका हुन् ।
एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्यूरोका सदस्य, केन्द्रीय कमिटीका सदस्य, जनप्रतिनिधिलगायत उक्त अभियान सम्पन्न गर्न आज बिहान चिवाभञ्ज्याङ आइपुगेका थिए ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरुआत भएको थियो । झण्डोत्तलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतीक स्तम्भको अनावरण गरे । उक्त कार्यक्रमका लागि आसपासको क्षेत्रबाट एमाले समर्थक तथा कार्यकर्ता उक्त स्थानमा पुगेका छन् ।
अभियान सम्पन्न भएपछि एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्रप्रसाद पाण्डे तथा महासचिव शङ्कर पोखरेल हेलिकप्टरमार्फत फिदिम फर्किएका छन् भने उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवसहितका नेताहरु पैदल मार्ग हुँदै फिदिम फर्किएका हुन् ।
यसअघि पाँचथरको फिदिममा शनिबार एमालेले सन्देशसभा आयोजना गरेको थियो भने आज पाँचथरको याङवरक—१ च्याङथापूमा कोणसभा आयोजना गरेको थियो ।
तीन हजार १२८ मिटरको उचाइमा अवस्थित चिवाभञ्ज्याङ भारतको सिक्किम प्रान्तसँग सीमा जोडिएको स्थान हो । स्थानीयवासीले लामो समयदेखि सीमा नाका स्थापनाको माग गरिरहेको चिवाभञ्ज्याङमा एमालेको यात्रा टुङ्गिने क्रममा ठूलो सङ्ख्या नेता तथा कार्यकर्ता पुगेका छन् । अभियानले चिवाभञ्ज्याङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, नाका स्थापनाका लागि सहयोग गर्न मद्दत मिल्ने च्याङथापूका ताराकुमार खालिङको भनाइ छ ।




















प्रतिक्रिया