अस्ट्रियाको राजधानी भियनामा आतङ्कवादी हमला भएकाे छ । त्यहाँकाे प्रहरीका अनुसार उक्त हमालामा एकजना मारिएको पुष्टि भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
राइफलसहित आएका व्यक्तिहरूले छवटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ । प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको एउटा भिडियाेमा देखिन्छ । सामाजिक सञ्जालबाट बाहिरिएकाे भिडिओ फुटेजमा गोली चलिरहँदा मानिसहरू भागिरहेको देखिन्छ ।
अस्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जले यसलाई ‘आतंकवादी आक्रमण’ भनेका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
साे क्रममा एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिबिसी लेख्छ- एउटा स्थानीय पत्रिकाका अनुसार घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन् ।
हमलापछि त्यहाँकाे प्रहरीले आतंकवादीविरोधी कारबाही सुरु गर्दै घटना भएका क्षेत्रमा नहिँड्न र सार्वजनिक यातायात प्रयोग सर्वसाधारणलाइ अपिल गरेकाे छ । यस्तै, सहरमा ठाउँठाउँमा सडक अवरुद्ध गरिएको छ ।
छिमेकी देश चेक रिपब्लिकले पनि सीमामा छड्के चेकजाँच सुरु गरेको जनाइएको छ । उक्त हमलाकाे युरोपेली नेताहरूले कडा शब्दमा खेद प्रकट गर्दै आफूहरू स्तब्ध भएको बताएका छन् ।




















प्रतिक्रिया