Logo

प्रमुख समाचार

महासमिति बैठकबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।

बैठकमा आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकका सम्बन्धमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ। केन्द्रीय कार्यालयले महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसैबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ। उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको हो।

यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेश गर्नेछन्।

महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी छ। महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव आजको केन्द्रीय कार्यसमिति बैठकले पारित गर्नेछ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ०७:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।