Logo

प्रमुख समाचार

युवा बाच्न सक्ने देशको खाँचो



देश माटो हो। देश भूगोल हो। माटो आफैँ समृद्ध हुँदैन। मानिले समृद्ध तुल्याउने हो। जो कोहिलाई आफू जन्मेको माटो प्रिय लाग्छ। मलाई पनि म जन्मेको देश औंधि प्यारो लाग्छ। देश समृद्ध भइदेओस् चाहन्छु। तर, मैले चाहँदैमा समृद्धि कहाँ प्राप्त हुन्छ र? समृद्धिका लागि त नेताहरूको इच्छाशक्ति चाहिन्छ। उहाँहरूको योजना चाहिन्छ। नेपाली राजनीतिज्ञमा भने त्यसको अभाव छ। उहाँहरूको ध्यान सत्ता प्राप्तिमै केन्द्रित छ। नेताहरूको सत्ता प्राप्तिको लुछाचुडिका कारण तीन करोड नेपालीले दु:ख पाइरहेका छन्।

अपेक्षितरूपमा विकास हुन सकेको छैन। देशमा उद्योगधन्दा कलकारखाना खुल्न सकेका छैनन्। कृषि प्रधान देश भए पनि किसानलाई मलखादको समस्या छ। विभेदपूर्ण महँगो शिक्षा प्रणाली छ। जनताले सु्लभताका साथ स्वास्थ्यसेवा पाउन सकिरहेका छैनन्। महँगी उच्च छ। निर्यात नगन्य छ। आयातले ऋणको भारी थपेको थप्यै छ। तर, पनि नेतामा चिन्ता देखिँदैन। उनीहरूको चिन्ता केवल सत्ता लिप्सामामात्र छ। देशमा भविश्य नदेखेर दिनहुँ विदेशीने युवाहरूको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यास लाग्दो छ। पहाड रित्तिसके। गाउँमा मर्दापर्दा मलामी जाने युवाहरू पनि छैनन्।

जोसुकैलाई आफ्ना मातापिता सरह मातृभूमिको माया हुन्छ। जन्मभूमि मातृभूमिमात्र होइन, गौरव हो। किनकि यही माटोमा जन्मिएर हामीले यति सुन्दर धर्ति देख्न पाएका छौं। जति दु:खका पहाड उक्लिनु परे पनि, जति संघर्षका जंघार तर्नु परे पनि यही माटोमा पसिना बगाउनुपर्छ लाग्छ। तर, हामीलाई त्यस्तो लागेरमात्र के गर्नु। घरमा चाउरिएका बुबाआमालाई उपचार गर्न गाह्रो छ। छोरालाई स्कुल पठाउन गाह्रो छ। श्रीमतीलाई चुरा र पोते किनिदिन गाह्रो छ। बाच्नै गाह्रो भएपछि युवाहरू नेताहरूलाई सराप्दै विदेशिन बाध्य छन्। यो मुलुकका लागि दु:ख लाग्दो कुरा हो। उमेर हुँदा युवाहरूले आफ्नो श्रम र शक्ति प्रयोग गरेर विदेश बनाउँछन्। अनि कसरी होस् देश समृद्ध।

हाम्रो देश चार जात छत्तिस वर्णको साझा फूलवारी हो। हामी अनेकतामा एकता कायम गर्दै मगमगाइरहेका छौं। हिमाल, पहाड, तराई कोही छैनौं पराइ। तर, यही एकतामा भाजो हाल्ने काम नेताहरूबाट नै हुने गरेको छ। जसले एकता कायम गर्नुपर्ने हो, जसले सहिसुणता कायम गर्नुपर्ने हो उनीहरू नै विखण्डनमा रमाइरहेका हुन्छन्। स्वार्थकेन्द्रत राजनीति गरेर जनतालाई विभाजित गर्न खोजिरेहका हुन्छन्। जनताले कहिले मधेशी, पहाडी, थारु, भोटे भन्दैनन्। बन्धुत्वका साथ व्यवहार गरिरहेका हुन्छन्। तर, नेताहरूले बेला-बेला विवादित अभिव्यक्ति दिएर जनतालाई विभाजित गर्न खोजिरहेका हुन्छन्। धर्म र जातिको नाममा राजनीति गर्न खोजिरहेका हुन्छन्। अनी कसरी प्राप्त होस् समृद्धि।

म यहाँ इतिहासको कुरा गरिरहेको छैन। म त्यो गर्न पनि चाहन्न। केवल हृदयभित्रका पीडाका भुल्काहरूलाई अभिव्यक्त गरिरहेको हुँ। यो बुद्धको देश हो। सिता र अरनीको देश हो। सगरमाथाको देश हो। विश्वमानचित्रमा लुम्बिनीले शान्तिको सन्देश प्रवाहित गरिरहेको हु्न्छ। सगरमाथाले हाम्रो गौरव चुल्याइरहेको हुन्छ। जलस्रोतको दोस्रो ठूलो धनी देशमा कलकल बगिरहेका झरनाले पर्यटकहरूलाई मोहित पारिरहेको हुन्छ। यी यावत् सम्भावना हुँदाहुँदै पनि हामी विकास मानचित्रमा निकै पछि छौं। यहाँका प्रकृतिक सम्पदाको संरण र तिनको प्रचारप्रसार गर्ने हो भनेमात्रै पनि वर्षेनी लाखौं पर्यटकलाई भित्र्याउन सक्छौं। हाम्रा नदीमा बग्ने पानीको सदुपयोग गरेर विद्युत उत्पादन गर्दै विदेश निर्यात गर्यौं भने हामीलाई समृद्ध हुन धेरै समय लाग्दैन। सुरुमा हाम्रा सम्पदाको सदुपयोग गरेर पछि नेपाल जस्तो सानो मुलुकलाई औद्योगिक हवका रूपमा विकास गर्‍यौं भने मुलुकलाई काचुली फेर्न समय लाग्दैन।

मलाई गौरव लाग्छ। म देशप्रति सचेत र इमानदार छु। सेतो हिउँ शीर लाग्छ। हरियो जंगल प्राणवायु लाग्छ। मेची, काली, कोसी, कर्णाली, सेती, गण्डकीमा बग्ने जल रगत तुल्य छ। सर्वोच्च शिखर सगरमाथा संसारकै श्रीपेच हो। तर, बेला-बेला यति सुन्दर देशमा बसेर भविश्यको कल्पना गर्दा औधि चिन्ता लाग्छ। छटपटी हुन्छ। जुनसुकै कोणबाट हेरे पनि सुन्दर भविश्य देख्दैन। जताततै निराशा छ। यो निराशालाई आसामा परिणत गरिदिने व्यक्तिको खाँचो छ। मुलुक भ्रष्टाचारको भड्खालोमा नराम्रोसँग बसेको छ। शक्तिकेन्द्रमा नेता र नेताका आसेपासेमात्र छन्। जनताका लागि लोकतान्त्रिक गणतन्त्र लोकतान्त्रिक गणतन्त्र जस्तो छैन।

युवाहरू आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाह गर्न बाध्य छन्। सहकारी पीडित, मिटर व्याज पीडित जनताका आँखामा आँशु र हृदयमा पीडा बाहेक केही छैन। उनीहरूलाई राज्य छ झैँ लाग्न छोडेको छ। उखु किसानले समयमा मूल्य पाउन सकिरहेका छैनन्। दूध किसानले सडकमा दूध पोखेर आन्दोलन गर्नुपर्ने अवस्था छ। तरकारी खेती गर्ने किसानहरू बजार नपाउँदा सडकमा टमाटर फ्याक्न बाध्य छन्। यी सबै पीडामा कहिले पुग्ला राज्यको दृष्टि। राज्यको दृष्टि नपुग्दासम्म पीडितले पीडा भाइरहने छन्। न्याय कमजोर हुँदै जाने छ।

त्यसैले अब त अत्ति भयो सरकार। हामीलाई फोहोरी राजनीति होइन, युवा बाच्न सक्ने देश चाहिएको छ। यही बसेर पौरख खर्चिदै हामी मुलुकलाई समृद्ध तुल्याउन चाहन्छौं। हामीलाई देशमै बस्नसक्ने वातावरण चाहिएको छ। बास्तविक लोकतन्त्रको अनुभूति गर्नुछ हामीलाई। नक्कली र खोक्रा भाषणले पेट नभर्दो रहेछ।

प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार  २ : ३८ बजे

1.179k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।