उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका तीन बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका छन्। उनीहरू नुहाउन नदीमा जाँदा आइतबार दिउँसो बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा- १४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन्।
त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरू आइतबार दिउँसो होली खेलेर सुनकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । पाँच जना बालबालिका सुनकोसीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना चाहिँ निक्लन सफल भएका थिए।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोसीमा बेपत्ता भएका बालबालिकाको खोजी जारी राखेको जानकारी दिएका छन्।
सुनकोसीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ।




















प्रतिक्रिया