काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पुरा नगरी खुलामञ्चमा निशुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित गर्न महानगरले आग्रह गरेको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बढी भीडभाड हुने र सर्वाजनिक स्थलमा अस्वस्थ असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरेका छन् । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकार जनताप्रति उत्तरदायी रहेको उल्लेख गर्दै स्वास्थ्य जोखिमको समेत ख्याल गरी खाना खुवाउन आग्रह गरे । श्रम गर्न सक्नेहरुले श्रम गरेर र नसक्नेहरुको व्यवस्थापन गर्न महानगरले सहयोग गर्ने उहाँले बताएका छन् ।
महानगरपालिकाले शुरुदेखि नै काम गर्न सक्नेहरुलाई काम दिएको उल्लेख गर्दै नसक्नेहरुको हकमा व्यवस्थापनका लागि महानगरपालिकाले सहयोग गर्ने बताए। सक्नेहरुले समेत काम नगरी खाने प्रवृति रहेमा भोलि पनि समस्या हुने उनले बताएका छन् । उनले भने, ‘काम नगरी खाने प्रवृति भयो भने भोलि श्रम गरेर खानेभन्दा पनि उनीहरुले गर्दैनन् । बानी बिग्रिन्छ । त्यसैले सक्नेले काम गर भन्ने महानगरको धारणा हो । नसक्नेलाई व्यवस्थापन गर्छौं ।’
एकै ठाउँमा भीडभाड गरेर खाना खुवाउनुभन्दा जो जुन ठाउँमा छ त्यही ठाउँमा खुवाउने व्यवस्था गर्नुपर्ने उनले बतए । महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिन सक्ने उनले बताएका छन्।
लकडाउन अविधिभर महानगरपालिकाले ३२ वटै वडामार्फत् ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ । लकडाउन अवधिमा १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको उनले बताए । श्रम गर्न सक्नेहरुलाई वडा कार्यालयहरुबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधारमर्मत् सम्भार, ढल निकाल तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण जस्ता काममा लगाउने गरेको महानगरले जनाएको छ । एक सातामा कम्तिमा २ दिन तोकिएको पारिश्रमिक दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत रोजगारी पनि सिर्जना गर्ने काम गरेको उनले बताएका छन् ।




















प्रतिक्रिया