सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् ।
मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन् ।
नवनियुक्त मन्त्रीमध्ये महेन्द्र केसी, वीरबहादुर शाही, दुर्गा रावत र शेरबहादुर बुढाले शपथ लिइसकेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमालेका विनोद शाह भने शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् ।
राज्यमन्त्री गमता विकलाई मुख्यमन्त्री कँडेलले शपथ ग्रहण गराएका छन् ।




















प्रतिक्रिया