Logo

प्रमुख समाचार

पत्रकार महासंघले भन्यो–सिरोहियालाई कार्यालयबाटै पक्राउ गर्नु गृहमन्त्रीको प्रतिशोधपूर्ण काम



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयमै पुगेर प्रहरीले पक्राउ गरेको विषयमा पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा ‘बदलाको भावनाबाट’ पक्राउ गर्नु दुःखद भएको जनाएको हो ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ ।’

महासंघले पत्रकारितामा बिचलित नहुन पनि भनेको छ । सिरोहियालाई आजै कान्तिपुरको कार्यलयबाट प्रहरीले नागरिकताको कीर्ते प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरेको छ ।

सिरोहियाको पक्राउ विरुद्ध सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।

महासंघले जारी गरेको विज्ञप्ति यस्तो छ

कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण मितिः २०८१ जेठ ८ गते कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको छ । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ । कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार्दैन । यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्यतथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।

रोसन पुरी

महासचिव

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १९:०६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।