काठमाडाैं । यो देशमा आजसम्म शहर बजार देखि गाउँबस्तीलाई पहिलेको समय र अहिलेको समयमा धेरै अन्तर गराइसकेको छ । देशको राजनीतिक अवस्था र जनताको पिडाहरु आमिन्ने सामुन्ने उभिएका छन्, भन्दा हुन्छ । हिजो शहर बजार आफ्नो गतिमा विकास क्रममा ध्यान दिइरहेको थियो भने आज दुर्गम क्षेत्रमा पनि उस्तै विकासको दौड चलिरहेको छ ।
हिजो राजतन्त्र, लोकतन्त्र, गणतन्त्र ,प्रजातन्त्रको पक्षमा आवाज उठाउने नेता आज सबै एकजुट भएर लागि रहेको छन्। जति नै भ्रष्टचार गरेपनी हिजो भन्दा आज केही बदलिएको छ । तर देश खाली छ रोजगारीको सिर्जना छैन भनौ विकास क्षेत्रमा राम्रो तिब्रता छ तर देशमा युवा शक्ति छैन। रितिएको छन् गाउँबस्ती उजाड हुन लागेको छ्न् यहाँको खोलानाला, वनजङ्गल ,नदीनाला ,टार, बेसी उपत्यका ,सबै खाली छन्।हिँजो जस्तो रहेको छैन देशको सुन्दरता लोपन्मुख अवस्थामा पुगिसकेको छ ।
विगतलाई सम्झेर अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ आजभन्दा केही वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुने लागिरहन्छ। हुन त गाउँ त्यस्तै त भएको छ। न त्यो समय छ, न ती साथी, न ती मान्छे। दुर्गम ठाउँमा गाउँ भए पनि धेरै पछिसम्म पनि हाम्रो गाउँमा पानीको अभाव थिएन, घट्टबाट धान मकै कुटेर ल्याएको मलाई याद छ, चिउरा कुट्न गाउँभरिका मान्छेहरू दुई घण्टाको बाटो भिजाएको धान बोकेर गएको धेरै भएको छैन ।
गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन। तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ। शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन्। केबल मृत्युको पर्खाइमा रहेका बुढाबुढीहरू गाउँ कुरेर बसेका छन्, यो देख्दा अचेल पटकपटक मन दुखिरहन्छ ।
हिजोको उमेरमा त्यो समयमा बचपनमा मसित खेल्ने मेरा उमेरका मभन्दा साना ठूला कोही साथीहरू पनि गाउँमा भेटिएनन्। अधिकांश त विदेश गइसकेका छन् भने स्वदेशमा बस्नेहरू पनि सहरमा छन् ।
गाउँमा बसिरहँदा लुकीडुम, दौड, फुटबल, चुंगी र एकखुट्टे खेलेका हरेक ठाउँहरू पुनर्ताजगी भए। ठाउँ त त्यस्तै नै छ अलिकति बढी विकास पुगेको मात्रै हो। तर ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्तिहरू कोही छैनन्। त्यतिका वर्षसम्म आफू खेलेको, हुर्केको, पढेको गाउँमा कोही नभएपछि लाग्यो– भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको विकास खासै अर्थपूर्ण नहुने रैछ।अर्कोतर्फ, गाउँमा मनाइने धेरै संस्कृति र संस्कारहरू पनि लोप हुँदै गएका छन्।
अचेल दसैं तिहारमा गाउँमा पिङ हाल्ने चलन हटिसकेको छ भने हालेको ठाउँमा पनि पिङ खाली हुन थालेको छ। अर्कोतर्फ गाउँमा बिहेवारी हुँदा गाउँभरिका मानिस जुटेर विवाह सम्पन्न गर्ने चलन हराइसकेको छ। मोडर्न पार्टी प्यालेस र सहरको बसाइले गाउँमा गरिने धेरै संस्कार लोप भइसकेका छन्।गाउँमा मान्छे मर्दा लास लैजाने कोही छैनन्। तसर्थ अचेल मान्छेले होइन, लासले जलाउने मान्छे कुरेर बस्नुपर्ने बाध्यता छ ।
मन्दिर, घाट, पार्टीपौवा, र भवनहरू सबै माकुराको जालोले भरिएका छन्। विभिन्न नाच, पूजाआजा र पर्वहरू मानिसको अभावमै लोप भइरहेका छन्। कतिपय पर्यटकीय सम्भावना बोकेका स्थल र ऐतिहासिक महत्वका स्थानहरू समेत संरक्षणको अभावमा जीर्ण हुँदैछन्।
अहिले गाउँमा विकास भने धेरै पुगेको छ। कुनै समय पानीको लागि घण्टौँ धाएर गाग्रीमा पानी बोक्नुपर्थ्यो भने अहिले घरघरमा धारो छ। कुनै समय उत्पादन भएको दूध बेच्ने ठाउँ थिएन भने अहिले घरघरमै दूध लिने मान्छे आइपुग्छ। घण्टौं हिँडेर पुगिने ठाउँमा गाडीको सुविधाले २० मिनेटमै पुग्न सकिने भएको छ।
घरनजिकै स्कुल छ, स्वास्थ्य संस्था छ । स्थानीय तहले पनि किसानलाई प्रोत्साहनका लागि धेरै कार्यक्रम ल्याएको छ । उन्नत जातका पशु दिनेदेखि विभिन्न तालिम र बिउविजन गाउँमा सहजै पाइन्छ । आगोमा फुँ(फुँ गरेर धुवाँ खाँदै पकाउनुपर्ने युगलाई ग्याँस र इन्डक्सनले विस्थापित गरेको छ। उत्पादन भएका धान, मकै र तरकारी लिन घरमै गाडी आइपुग्छ। विडम्बना गाउँमा सुविधा पुगेको छ तर मान्छे कोही छैन। भएका युवाहरू पनि फ्रस्टेड भएर विदेशिसकेका छन्। अनि आफू पनि गाउँ पुग्दा विरक्त लाग्ने अवस्था बनिसकेको छ।
हाम्रो देशका पहाडी जिल्ला भएरपनि अर्कोतर्फ गाउँमा शिक्षाको पनि उस्तै सुविधा पुगेको छ। विद्यार्थीलाई दिवा/खाजाको व्यवस्था गरिएको छ भने धेरै दाताहरूले स्कुलमा कपी, किताब र खेलकुदका सामग्री निस्शुल्क वितरण गरिरहेका छन्। जबकि केही वर्षअघिसम्म हामी हाफछुट्टीमा लप्सी, अम्बा खोजेर खान्थ्यौं भने कतिपय साथीहरूले कापी समेत किन्न नसक्ने अवस्था थियो।
गाउँमा बुढा पाकाको भत्तालाई स्कूलको बोर्डहरु जोडेर चकले ब्ल्याकबोर्डमा लेखेर चौरमा समेत बसेर पढेको अनुभव मलाई छ। त्यत्ति हुँदा पनि विद्यार्थी भरिभराउ हुन्थे।
घर बस्दा र घुम्न जाँदा लगाउने लुगा समेत स्कुल ड्रेस नै हुन्थ्यो। अहिले गाउँको स्कुलमा पनि सुविधासम्पन्न भवन बनिसकेको छ। कम्प्युटर, ह्वाइट बोर्ड, इन्टरनेट र प्राविधिक शिक्षकहरू पढाउन पुगेका छन्। हाम्रो समयमा जस्तो फोहोर ट्वाइलेट पनि छैन। सुविधा जति पुगे पनि स्कुलमा विद्यार्थी छैनन्। विद्यार्थी बिनाको स्कुल र सुविधाको पनि के अर्थ छ र गाउँमा कोही नभएर एउटा परिकल्पना जस्तै भएको छ।जति नै भ्रष्टचार गरेपनी तिनै तहकै सरकारले गाउँ-गाउँको बजेटमा बर्सेनि वृद्धि गरिरहेका छन्।
मानिस नभएका ठाउँमा विकास मात्रै गरेर के गर्नेरु प्रयोग नै नहुने बाटो, विद्यार्थी नै नभएको स्कुलको भवन, पूजा गर्ने मानिस नआउने मन्दिर र खानेपानीका पाइप बिच्छाएर के गर्नेरु यी सबै भौतिक सुविधा प्रयोग गर्ने गाउँका युवा कोही छैनन्। जीविका चलाउन सबै मानिसहरू विदेशिएका छन्।अब सुविधा बढाउनेभन्दा पनि गाउँगाउँमा सुविधाको उपयोग गरेर विकास गर्ने नागरिकको खाँचो छ।
सहरमा मात्रै केन्द्रित भएको बस्तीलाई गाउँगाउँमा पनि आकर्षित गर्ने खालका योजना ल्याउनु जरूरी छ। सो खालका अवसरहरू गाउँमा पुगे मात्रै अब युवा गाउँमा बस्छन्। अन्यथा, सामान्य भौतिक पूर्वाधारको विकासले मात्रै कोही पनि गाउँघरमा बस्ने अवस्था छैन। युवा आकर्षित हुने काम सरकारले नगरेसम्म गाउँको विकासले अर्थ नराख्ने भइसक्यो।समय धेरै परिवर्तन भइसकेको छ। एउटा पुस्ताहरू सकिनेबित्तिकै गाउँहरू खाली बन्ने अवस्था आइसकेको छ। जसले गर्दा उत्पादन हुने जमिन बाँझिएको छ भने भएका युवाशक्ति सबै विदेशमै हुने सम्भावना बढेको छ ।
मानिस नभएका ठाउँमा विकासको सुविधा पुर्याएर मात्रै पनि त्यसबाट उपलब्धि केही हुने देखिँदैन। तसर्थ, गाउँको बसाइसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिनुपर्ने देखिन्छ।
अन्यथा देशको अवस्था थप भयावह बन्ने देखिन्छ।जनताले रोजगारी आफ्नै देशमा हात पाखुरा गरेर आफूलाई राम्रो संग छाक टार्न सकिने अवस्था छ ,अब सबैले आफ्नो देशलाई आर्थिक विकास क्षेत्रमा जोड दिन देखिन्छ ।
















प्रतिक्रिया