Logo

प्रमुख समाचार

उपसभामुख रानामगरले भनिन्- पदको गरिमामा आँच आउने काम गरेको छैन



काठमाडाैं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ताको मिति सारिदिन पत्र लेखेको स्वीकार गरेकी छन् ।

उपसभामुख रानामगरले आफूले संघीय संसद् र उपसभामुख पदको गरिमामा आँच आउने कुनै काम नगरेको बताएकी छन् । आफूले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु आफूविरुद्ध नियोजित कदम भएको उनको दाबी छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले आफूले कार्यक्रममा सहभागी हुन निमन्त्रण आएकाहरूलाई अन्तर्वार्ताको मिति लिइदिन पत्र लेखेको स्वीकार गरेकी छन् ।

तर आफूले भिसाका लागि अनुरोध नगरेको भन्दै उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वतः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन, होइन ।’

आफूले लेखेको पत्र मर्यादा अनुरुप भएन भनेर आएको प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताएकी छन् । आफूलाई माया र सद्भाव राखेर सचेत गराउन खोज्नेहरूप्रति कृतज्ञता व्यक्त गर्दै उपसभामुख रानाले भनेकी छन्, ‘तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

आफ्नो स्वभावगत कमजोरीको कसैले फाइदा लिएको हुनसक्ने तर, आफूले अनैतिक काम नगरेको उनले बताइन् ।

‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान्, तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ उपसभामुख रानाले आफ्नो विज्ञप्तिमा भनेकी छन्, ‘आज जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौं लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवनमाथि लान्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि बिचलित नभई म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहने जानकारी गराउन चाहन्छु ।’

आफूसँगै पाँच जना कार्यक्रममा जाने लागेको भन्दै उनले भिसाका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले लिने अन्तर्वार्ताको मिति सारिदिन पत्र लेखेको खुलेको छ । दूतावासलाई लेखेको पत्रले हालै उपसभामुख रानामाथि प्रश्न उठेको छ ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १६:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।