Logo

प्रमुख समाचार

बेचन झालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।

यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।

यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

प्रहरीको इतिहासकै हाइप्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए।

त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए ।

उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १६:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।