काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।
उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिए पनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भेटका क्रममा राणाले आपसी चासोका विषयमा छलफल गर्ने तयारी गरेकी छन् । सोमबार नै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरिसकेकी छन् । द्विपक्षीय भेटवार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् ।
उनले भनिन्,‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’




















प्रतिक्रिया