Logo

टिप्पणी

कतै नवजात शिशुमा श्रवण समस्या त छैन, बोल्न नसक्ने जोखिम हुनसक्छ !



काठमाडाैं । शिशुले जे सुन्छ, त्यही बोल्छ। यति तपाईंको शिशुले सुन्न सक्दैन भने पछि गएर बोल्न पनि सक्दैन। यो समस्या सामान्य तथा आमा-बुवा वा अभिभावकलाई शिशु दुई/तीन वर्षको भएपछि मात्र थाहा हुन्छ।

साधारण जन्मेका शिशुमा पनि सुनाइ (श्रवण)को समस्या हुन सक्छ। तथ्यांक अनुसार उच्च जोखिममा भएका ५ प्रतिशत शिशुलाई सुनाइको नसामा समस्या हुँदा सुनाइमा ह्रास आउँछ। ५० प्रतिशत सुनाइको नसामा समस्या भइ सुनाइ ह्रास भएका शिशुमा कुनै पनि जोखिमका कारकहरू भने देखिएका छैनन्।

कानको सुनाइ ० देखि २५ डिसेबलसम्म नर्मल हुन्छ। योभन्दा बढ्दै गएमा श्रवण क्षमता कम मानिन्छ। शिशु अवस्थामा समस्या सहजै पत्ता लगाउन सकिँदैन। त्यसैले शिशुको श्रवण जाँच आवश्यक हुन्छ।

शिशुको श्रवण जाँच भनेको के हो?

शिशुहरूको कानभित्र विभिन्न उपकरण, तार राखेर दुखाइ महशुस नगरेरै गरिने जाँचलाई शिशु सुनुवाइ स्वास्थ्य जाँच भनिन्छ।

यस्ता शिशु सुनाइ समस्याको उच्च जोखिममा रहन्छन्:
– हाडनाताबाट जन्मिएका शिशु,
– शिशुको आमा-बुवामध्यै कसैको बाल्यकालदेखि नै श्रवण समस्या वा बंसाणुगत समस्या भएमा,
– गर्भमा रहँदा आमालाई कुनै संक्रमण (टक्सो पलाज्मा, रुवेला, ठेउला, हर्पिस जुस्टर) जस्ता जटिल रोग लागेमा,
– ३७ हप्ता नपुगी जन्मेको शिशु (प्रिटम बेबी) मा,
– जन्मिँदा शिशुको तौल २.५ किलो ग्राम कम भएमा,
– शिशुको टाउँको वा अनुहार असामान्य भएमा,
– शिशु जन्मिने वित्तिकै नरोएमा,
– जन्मेपछि शिशुलाई कमलपित्त भएमा, यसका कारण रगत चढाउनु परेमा वा फोटो थेरापी दिनु परेमा,
– शिशुलाई मेनेन्जाइटिस, दादुरा, हाणे जस्ता रोग लागेमा,
– जन्मेपछि शिशुलाई सघन उपचार कक्षमा राखि उपचार गर्नु परेमा।

माथि उल्लेखित समस्याका कारण शिशुको श्रवण क्षेमतामा असर पुग्ने जोखिम रहन्छ । त्यसैले आफ्नो शिशुमा यस्ता खाले समस्या देखिएमा सामान्य रुपमा लिनु हुँदैन। नजिकैको स्वास्थ्य संस्था वा डाक्टरको परामर्श लिनुपर्छ। डाक्टरको परामर्श बीना पनि कुनै औषधि चलाउनु हुँदैन। किनकि त्यसले शिशुमा थप असर गर्ने जोखिम रहन्छ।

जाँच किन आवश्यक छ?

सुनाइको समस्या शिशु अवस्थामा नै पत्ता लगाउन सकेमा अन्य शिशु सरह नै बोल्न र सुन्न सक्ने बनाउन सकिन्छ। सानै उमेरमा कानको सुनाइ ठिक भएमा मात्रै बोल्ने क्षेमताको पनि बिकास राम्रो हुने, स्मरण शक्ति बढ्ने हुँदा शिशुको सुनाइ स्वास्थ्य जाँच अति आवश्यक हुन्छ।

शिशु मात्र नभएर अन्य व्यक्तिमा पनि तीन कारणले श्रवण समस्याको जोखिम रहन्छ। कानको बाहिरी र मध्ये भागमा संक्रमण आएमा हुने श्रवण ह्रास (कन्डक्टिभ हेयरिङ लस) जस्तो : जालीमा संक्रमण, जालीमा प्वाल, ढुसी पलाउँदा, अत्यधिक कानमा फोहोर वा कानेगुजी जम्मा हुनुलगायत कारणले श्रवण क्षमता ह्रास हुन्छ।

भित्रि कानको नसा सुक्दै गएमा पनि श्रवण क्षेमतामा ह्रास आउँछ। यसलाई सेन्सोन्यूरल हेयरिङ लस भनिन्छ।

बाहिरी, मध्ये र भित्रि कानमा समस्या आउँदा श्रवण क्षेमतामा ह्रास देखिन्छ। यस्तो खाले समस्यालाई मिक्स्ड हेयरिङ लस भनिन्छ। यस्ता कुनै समस्या देखिए बेवास्ता गर्नु हुँदैन। कान स्वास्थ्य मानवका लागि निकै महत्त्वपूर्ण छ।

जनक पाण्डेय चियर्स हस्पिटलका इएर हेल्थ वर्कर हुन् ।

प्रकाशित मिति : भाद्र ६, २०८१ बिहीबार  १ : ०७ बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।