काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको ब्रिफिङ पार्टीलाई गरेकी छन् ।
परराष्ट्रमन्त्री देउवा भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी थिइन् । त्यसको भोलिपल्ट शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै उनले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् ।
उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।
आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै उनले डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबार मात्र आएको सुनाइन् । ‘लक्किली मोदीजीसँग पनि भेट भयो’ उनले अगाडि भनिन्, ‘सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरुको कस्तो रेस्पोन्स हुन्छ भन्दा रेस्पोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु ।’
नेपालको विकासका गति अगाडि बढ्ने भारतीय पक्षको विश्वास पाएको उनले सुनाइन् । नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको पनि उनले जानकारी गराइन् ।
‘बीआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नु भएको रहेछ, मैले हाम्रो पार्टीको यस्तो–यस्तो छ । हामीले पास गरेर दिइसकेका छौं । मोडलिटी के हुनसक्छ भन्छौं भनेको छु,’ परराष्ट्रमन्त्री देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भनिन् ।




















प्रतिक्रिया