काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।
उनले भने- ‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजी राखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो ।’
थापाले समितिमा आफुहरुले प्रमाण दिएको उल्लेख गर्दै टीओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन् ।
उनले भने- ‘हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला ?’
आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताए ।




















प्रतिक्रिया