Logo

प्रमुख समाचार

विशेष अदालतको मुद्धा प्रभावित बनाउन बाग्मतीका निलम्बित मेयर थापा नक्कली प्रमाण जुटाउन सक्रिय



सर्लाही। विशेष अदालतमा भ्रष्टाचार मुद्धा झेलिरहेका बाग्मती नगरपालिकाका मेयर भरत थापा मुद्दालाई प्रभावित गर्ने गरि नक्कली कागजपत्र बनाउन सक्रिय भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध पहिलो पटक चैत २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । थापाले ५ करोड ३३ लाख बिगो कायम गरि गैरकानुनी सम्पती आर्जन गरेको अख्तियारको दाबीसहितको सो मुद्दा विशेष अदालतमा विचाराधिन छ । जेठ २९ मा माछा पोखरीमा करोडौं अनियमितता गरेको भन्दै अख्तियारले थापाविरुद्ध दोस्रो मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएसँगै निलम्बनमा परेका मेयर थापा अहिले मुद्दा प्रभावित गर्ने गरि पुरानै मिति राखेर नयाँ कागजपत्र बनाउन सक्रिय भइरहेको बाग्मती नगरपालिकाका एक कर्मचारीले बताए । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दालाई प्रभावित बनाउन उनले नगरपालिकाकै माओवादी पार्टीका कार्यकर्ताहरुसँग लेनदेनको कागजपत्र बनाई जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गर्न लगाएको स्रोतको दाबी छ ।

कुनै वैध व्यवसाय नभएका सर्लाही बरहथवा वडा नं ९ का सुमन थापालाई आफूविरुद्ध सावाँ ब्याज भराई पाउँ भन्दै वैशाख २४ गते मुद्दा दायर गर्न लगाएको स्रोेतले बतायो । सो मुद्दा जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलाशमा पेशी परेपनि थापाले असार ३१, भदौ ५ र भदौ १६ मा पेशी स्थगित गराएका छन् । न्यायाधीश थापा इमान्दार न्यायाधीशका रुपमा परिचित छन् । सो मुद्दामा अर्को पेशी भदौ २३ गतेका लागि तोकिएको छ ।

त्यस्तै, थापाले कानुनअनुसार कोही कसैसँग लेनदेन गर्दा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने भएपनि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अदालतलाई छल्न विभिन्न व्यक्तिसँग ऋण लिएको नक्कली तमसुक बनाइरहेका छन् । सामान्य आर्थीक अवस्था भएका बाग्मती नगरपालिका वडा नं १२ का झुलनाथ दाहाललगायतसँग करोडौको लेनदेनको कागजपत्र तयार गरिएको स्रोतको दाबी छ ।
त्यस्तै, जेठ २९ गते दायर भएको करिब ३० करोड बिगो माग गरिएकोे बाग्मती माछा पोखरीको अर्को मुद्दामा पनि मेयर थापा नक्कली प्रमाण बनाउन लागिपरेका छन् । काठमाडौंका विभिन्न स्थानमा बसेर केही इन्जिनियरहरुको टिमले पुरानै मितिमा धमाधम नक्कली कागजपत्र बनाएको स्रोतको दाबी छ ।

थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको र ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको अख्तियारको अनुसन्धानबाट खुलेपछि थापाविरुद्ध विशेष अदालतमा दुई वटा मुद्दा विचाराधिन छन् ।

त्यस्तै थापाले मेयर रहँदा नगरपालिकाको विकास निर्माणको कामहरू मध्ये करिव ८० प्रतिशत कार्यहरु उपभोक्ता समिति मार्फत आफ्नो व्यापारिक साझेदार रामकृष्ण केसी र भाई रामकुमार थापामार्फत गराएर करोडौ रकम अनियमितता गरेको स्थानीय बताउँछन् ।

उसो त मेयर थापा लगायतले गलत कागजात तयार गरेको र नगर कार्यपालिकाबाट माछापोखरीको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार नगरेको यसअघिनै आरोप लागेको थियो । बनगरपालिकाले सागरनाथ वन परियोजना र नेपाल सरकारको स्वीकृति विना बागमतीको बहाव प्रयोग गरेर ताल निर्माण गरेको थियो । पहिलो पोखरीबाट १७ लाख ८८ हजार र दोस्रो पोखरीबाट २१ लाख ८४ हजार गरी कुल ३९ लाख ७३ हजार नदीजन्य पदार्थ उत्खनन् गरेको अख्तियारको दाबी छ । त्यसमा अरू गणना गर्दा थप ७ लाख घनमिटर नदीजन्य पदार्थ नगरपालिकाले बिक्री गरेको भन्दै ३३ लाख ५९ हजार घनमिटर रोडाढुंगाको मात्रै हिसाब देखाएको अख्तियारको अनुसन्धानमा भेटिएको थियो । त्यसमा १३ लाख ४० हजार घनमिटर रोडाढुंगा नदेखिएको र त्यसले नगरपालिकामा हानिनोक्सानी पुगेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसबाट २६ करोड ८० लाख नोक्सान भएको र भ्याटसमेत जोड्दा त्यो रकम ३० करोड २९ लाख पुग्ने अख्तियारको दाबी छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार १७:२४   :  बजे

2.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।