Logo

प्रमुख समाचार

कारागार चलान भएका लुम्बिनीका कांग्रेस सांसद केसी रिहा



काठमाडौं । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् ।

उनले फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन् । फौजदारी अपराध संहिता २०७४ अनुसार एकबर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ ।

किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि अदालतले कारागार चलान गर्न आदेश दिएको थियो ।

साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए ।

नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १५:५९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।