काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् । उनीविरुद्ध अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका छन् ।
संसीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र ६ वटा उजुरी परेको हो । प्राप्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिएको छ ।
अमेरिकाबाट राउतविरुद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक ऐनको गलत व्याख्या गरेको भनी उजुरी दर्ता गराएका छन् ।
बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहारका साथै राजनीतिक आस्थाका आधारमा फैसला तथा आदेश दिने गरेको आरोप लगाएका छन् । राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न नेपाली कांग्रेस निकटहरूलाई साधारण तारेखमा रिहा गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अर्का एक उजुरीकर्ताले राउतको दाम्पत्य जीवन विवादित रहेको भन्दै उनलाई अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएका छन् ।
प्रस्तावित प्रधान न्यायाधीशले हाइड्रो पावरमा लगानी गरेको, सांग्रिलामा पौडी खेल्ने र सर्वोच्चकै क्यान्टिन सञ्चालकको रेष्टुरेण्टमा मोजमस्ती गर्ने गरेको उजुरीमा उल्लेख छ ।
राउतविरूद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला गरेकाले प्रधान न्यायाधीशमा अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएकी छन् ।
उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गा पनि राउतकै फैसलाले गुमाएको दाबी गरेकी छन् ।
अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको विषयलाई उठाएका छन् । प्रस्तावित प्रधान न्यायाधीश राउतविरूद्ध संसदीय सुनुवाइ समितिले बुधबार सुनुवाइको तयारी गरेको छ ।




















प्रतिक्रिया