Logo

सूचना/प्रविधि

के तपाई वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड बनाउन अपनाउनुस् यस्ता उपाय



प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

हामी यहाँ तपाईँलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ ।

१. राउटर राखिएको स्थान

तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईँले राउटरलाई भुईँमा राख्नुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् ।

त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ । बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस् ।

२. कति दूरीमा छ वाईफाई राउटर

हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ । राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणको लागि कुनै राउटरले ३०० मीटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले ३० मीटरसम्मको मात्रै । त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

३. वरिपरिको वातावरण

वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

४. कुन दिशामा वाईफाई राउटर राख्ने

वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

५. रिपीटर डिभाइसको प्रयोग

यदि माथिका सबै टिप्सहरु ध्यान पूर्वक प्रयोग गरिसक्नुभएको छ र अझैपनि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ । वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ ।

रिपीटरको सहयोगबाट तपाईँको राउटरले धेरै एरिया कभरेज गर्दछ । यदि तपाईँ ठूलो एरियाको लागि वाईफाई प्रयोग गर्न चाहनुहुन्छ भने यस्तो रिपीटर डिभाइस प्रयोग गर्न सक्नुहुनेछ । 

माथि दिईएका टिप्सहरुलाई ध्यानपूर्वक पढेर लागू गर्नुभयो भने तपाईँको वाईफाई राउटरको समस्या र सुस्त गतिको स्पीडमा दोब्बरले सुधार भएको अनुभव हुनेछ । 

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  १२ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।