Logo

प्रमुख समाचार

सामान्य प्रशासनमन्त्रीको २५ बुँदे प्रगति वितरण सार्वजनिक 



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले १०० दिनमा गरेको कामको २५ बुँदे कार्य प्रगति विवरण पनि सार्वजनिक गरेका छन् ।

मन्त्री गुप्ताले भने १०० दिनको अवधिमा संघीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा मंगलबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा बढी जोड दिइरहेको बताए ।

प्रगति विवरणमा मन्त्रालयले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती विधेयक संसदबाट पारित गराउन मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरेको उल्लेख छ । उक्त विधेयक हाल संघीय संसदमा प्रस्तुत भएर प्रारम्भिक छलफलपछि राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ । आगामी संसद अधिवेशनबाट स्वीकृत गराउने गरी समिति र विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल भइरहेको मन्त्री गुप्ताले बताए ।

कार्यविस्तृतीकरण प्रतिवेदनमा भएको थप व्याख्यासहितको परिमार्जनका विषय समेटेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको सुझाव प्राप्त गरी संशोधन सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मनलयमा पठाइएको पनि मन्त्री गुप्ताले जानकारी दिए । जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाउन ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इन्जिनियर) व्यवस्था गरिएको र व्यवस्थापन तहमा जनशक्ति कमी हुन नदिनका लागि राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको पनि उने बताए ।

१०० दिनको अवधिमा संघीयता कार्यान्वयनको सन्दर्भमा मार्गचित्र पहिचान हुने गरी तीनवटा संवाद श्रृंखला सञ्चालन गरिएको र आर्थिक सुशासन, बजेट तथा कार्यक्रम प्रणालीमा सुधारमा सहयोग गर्नेगरी १८ वटा स्थानीय तहको मध्यकालीन खर्च संरचना तर्जुमामा सहजीकरण एवम् पृष्ठपोषण प्रदान गरिएको समेत मन्त्री गुप्ताले बताए ।

१३ वटा स्थानीय तहलाई जग्गा प्राप्ति र सातवटा स्थानीय तहलाई सरकारी जग्गा उपयोग तथा भाडामा उपलब्ध गराउन सम्बन्धित मालपोत कार्यालयमा सिफारिस गरिएको जानकारी समेत उनले दिए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १७:१५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।