Logo

अर्थ

एनसेलको १० दिनमै २० वटा नयाँ टावर सञ्चालनमा



एनसेलले आफ्ना सेवाग्राहीलाई अझ गुणस्तरीय सञ्चार सुविधा उपलब्ध गराउन देशभरका विभिन्न स्थानहरूमा १० दिनमै २० वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ। नयाँ टावर सञ्चालनसँगै ती क्षेत्रका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत उच्च गतिको डेटा र स्पष्ट भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन्।

कम्पनीले सेवा विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा नयाँ टावर जडान गरेको हो। लामो समयदेखि रोकिएको प्रक्रिया नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएपछि, चाडपर्वको समयमै एनसेलले तीव्र रूपमा कार्य अघि बढाएको हो।

मधेस प्रदेशमा बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर तथा रौतहटको यमुनामाई र माधव नारायण गरी १३ वटा टावर सञ्चालनमा आएका छन्। कोशी प्रदेशमा सुनसरी र मोरङका विभिन्न स्थानमा ६ वटा र बागमती प्रदेशको मकवानपुर (हेटौंडा)मा एक टावर जडान गरिएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “हामी नेपालको डिजिटल कनेक्टिभिटी सुदृढ पार्न निरन्तर प्रतिबद्ध छौं। आगामी दुई दिनभित्र थप १० नयाँ टावर सञ्चालनमा ल्याउने योजना पनि बनाएका छौं।”

उपकरण आयातमा प्रतिबन्धका बीच पनि कम्पनीले आफ्ना पुराना उपकरण प्रयोग गरेर यो वर्ष मात्रै ४० भन्दा बढी टावर सञ्चालनमा ल्याएको छ। एनसेलले आगामी दुई महिनाभित्र सबै प्रदेशमा १७० भन्दा बढी नयाँ टावर जडान गर्ने योजना अघि बढाइरहेको छ।

फोरजी सेवा विस्तारसँगै एनसेलले देशभरका ७७ वटै जिल्लामा सेवा पुर्‍याइसकेको छ र हाल यसले ९५ प्रतिशतभन्दा बढी जनसंख्यालाई आवृत गरेको दाबी गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार २०:१२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।