Logo

अनलाइनपाना खोज

एनआईसी एशियामा नेतृत्व चयन सकस: राष्ट्र बैँक सकारात्मक नहुँदा शाक्यको नियुक्ति अन्यौलमा

शाक्यलाई 'अफर लेटर' दिने तयारी: रावल डेपुटी, राठी र खनिया हेरेको हेर्यै



काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडको आज बस्ने संचालक समिति बैठकले नबिल बैंकका डेपुटी सिईओ सुजितकुमार शाक्यलाई ‘अफर लेटर’ दिने तयारी गरेको छ।

बैँकका अध्यक्ष तुलसीराम अग्रवालले आफू अनुकूल काम गर्ने सर्तसहित त्रिलोकोचन्द्र अग्रवालको दवावमा शाक्यलाई सिईओ बनाउने आश्वासन दिएका थिए। तर, कन्फर्म नभएकाले शाक्यले अहिलेसम्म पनि नबिलबाट राजिनामा नदिएको र एउटा पदमा रहँदासम्म अर्को पदमा नियुक्त हुन नमिल्ने भएकाले आजको बैंठकले शाक्यलाई अफर लेटर दिनसक्ने सम्भावना रहेको शाक्य निकट स्रोत बताउँछ।

शाक्यलाई सिईओ बनाउन बैँककै सहायक सिईओ राजेश रावलले लबिङ्ग गरिरहेको उनी निकट नबिका एक कर्मचारी बताउँछन्। ती कर्मचारीका अनुसार शाक्यले आफू सिईओ भएपछि रावललाई डेपुटी सिईओ बनाउने बचन दिएका छन्। सोहि अनुसार रावल शाक्यलाई सिईओ बनाउन कर्मचारी युनियनदेखि बैँक संचालक समितिसम्मलाई कन्भिन्स गरिरहेका छन्।

यो सँगै सिईओका मुख्य दावेदार कार्यवाहक सिईओको संतोषकुमार राठीको सिईओ बन्ने सपना तुहिएको छ भने डेपुटी सिईओ बन्ने आस बोकेका सहायक सिइओ अर्जुनराज खनिया हेरेको हेर्यै भएका छन्।

यद्यपि राष्ट्र बैँक शाक्यप्रति सकारात्मक नहुँदा उनको नियुक्ति भने अझै आन्यौलमै छ। सिईओ रोशन न्यौपानेले राजिनामा दिएपछि महिनौँ दिनसम्म पनि बैँकले कार्बबाहक सिईओबाटै काम चलाइरहँदा राष्ट्र बैँकले बैँकभित्रबाटै सिईओ नियुक्त गर्न अनौपचारिक रुपमा सुझाव दिएको थियो। राष्ट्र बैँकको सुझावपछि अध्यक्ष अग्रवाल शाक्य नियुक्तिमाथि पुनर्विचार गर्ने सोचमा देखिएपनि रावलले युनियनका केहि कर्मचारी र दाजु त्रिलोकचन्द्र अग्रवालमार्फत् दवाव बढाएपछि उनले आजको बैँठकबाट शाक्यलाई अफर लेटर दिने सोचमा पुगेका छन्।

बैंक स्रोतका अनुसार शाक्यले आफूलाई सिईओ बनाइदिएको खण्डमा सञ्चालक समितिले दिएको निर्देशनअनुसार नै काम गर्ने प्रतिबद्धता जनाइसकेका छन्। तर, बोर्डको अन्तिम निर्णय नगरेकाले उनले नबिल छोड्न सकेका छैनन्।

नबिल बैंकका एक उच्च अधिकारीले भने, “सुजित सरलालाई एनआईसीको सिईओ पद भुईको टिप्न खोज्दा भाँडाको पनि पोखियो भन्ने जस्तो भएको छ। उहाँलाई नबिलले स्वैच्छिक अवकाश (VRS) मार्फत् बिदा गर्ने तयारी गरिरहेको थियो, तर एनआईसीमा जाने कुरा बाहिरिएपछि अनावश्यक विवादमा पर्नुभो।” उनका अनुसार शाक्यले अफर पक्का नभएकाले राजिनामा नदिएका हुन्।

नियामक निकाय नेपाल राष्ट्र बैंक शाक्य र उनको सिईओ नियुक्ति प्रक्रियाप्रति सकारात्मक देखिएको छैन। शाक्यलाई सिईओमा अघि सारेको बिषय सार्वजनिक भएपछि राष्ट्र बैँकका एक उच्च अधिकारीले एनआईसी एशिया बैंकले फेरि पनि कामचलाउ सिईओ ल्याएर अध्यक्षको नियन्त्रणमा बैंक चलाउने प्रयास गरेको टिप्पणी गरेका छन्। यद्यपि कुनै पनि बैँकको सिईओ नियुक्तिमा राष्ट्र बैँकको हस्तक्षेप नहुने उनी बताउँछन्।

पटकपटक नियामकिय निर्देशन उल्लंघन गर्दै आएका अध्यक्ष अग्रवाललाई र तत्कालीन सिईओ रोशनकुमार न्यौपानेलाई यसपटक पनि आर्थिक बर्षको सुरुमै स्पष्टीकरण सोधी करबाही प्रक्रिया अघि बढाइसकेको छ। राष्ट्र बैंक स्रोतका अनुसार यी दुवै जनालाई २ लाख नगद जरिवाना गर्ने तयारी गरिएको छ।

यस सन्दर्भसमेतलाई लिएर एनआईसी एशिया बैँकका केहि सञ्चालकहरूले बाहिरका व्यक्तिलाई सिईओ बनाउन नहुने धारणा राखेका छन्। शाक्यलाई सिईओ बनाउनु उपयुक्त नहुने र बैँकभित्रै अब्बल कर्मचारी रहेकाले तिनैमध्यबाट सिईओ खोज्नुपर्ने सुझाव उनीहरुको छ।

त्यसमाथि बैँक अप्ठ्यारो अवस्स्थामा रहेको समयमा नबिल बैंकले निकाल्दै विवादित डेपुटी ल्याउँदा बैंकको विश्वसनीयता थप खस्कने र कर्मचारी-कर्मचारीबीच मनमुटाव भइ कार्यसम्पादन झनै खस्किने जोखिम रहेको केहि सँचालकको बुझाई छ।

शाक्य नबिल बैँकलाई देखाउनकै लागि जुनसुकै सर्तमा पनि सिईओ बनेरै छाड्ने मनस्थितिमा पुगेको नबिल बैँक स्रोत बताउँछ। सिनियर भएकाले नबिलका सिईओको दावी गर्दै आएका शाक्यलाई पन्छाएर बोर्डले मनोज ज्ञावालीलाइ सिनियर डेपुटी त्यसपछि सिईओ बनाएको र उल्टै उनलाई भिआरएस मा पठाउन लागिएको बिषयले नबिलको बोर्ड र व्यवस्थापनसँग उनको किचलो चल्दै आएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ०९:२९   :  बजे

474
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।