Logo

अर्थ

पहिलोपटक ‘फ्रेन्च फ्राइज’ नेपालबाट अमेरिका निर्यात



पहिलो पटक नेपाली उत्पादन फ्रोजन फ्रेन्च फ्राइज संयुक्त राज्य अमेरिका निर्यात भएको छ । भैरहवा भन्सार कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देहीमा उत्पादित फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको औपचारिक जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार, रुपन्देही जिल्लामा अवस्थित फर्स्ट च्वाइस फुड्स प्रालिद्वारा उत्पादित दुई कन्टेनर फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको हो ।

उक्त कम्पनीले अमेरिकी आयातकर्ता जेन्ट को एलएलसी डीबीए टीसीएफ फुड्सलाई ४३ हजार ५२० किलोग्राम फ्रेन्च फ्राइज निर्यात गरेको हो ।

भैरहवा भन्सार कार्यालयले दिएको जानकारी अनुसार, निर्यात गरिएको फ्रेन्च फ्राइजको कुल मूल्य ३८ हजार ४८० अमेरिकी डलर रहेको छ । यो नेपाली ५४ लाख ८८ हजार १५८ रुपैयाँ बराबर हुन आउँछ ।

यो ऐतिहासिक उपलब्धिले नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको भन्सार कार्यालयको ठहर छ ।

यसले नयाँ नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनहरूको विश्वबजार विस्तारको ढोका खोल्नेछ ।’

भैरहवा भन्सार कार्यालयले निर्यात प्रवर्द्धनका लागि आवश्यक सेवा-सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार २२:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।