काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार आर्थिक वर्षको तीन महीनामा बैंकले ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे बैंकको नाफामा ९६.९९ प्रतिशतको गिरावट आएको हाे ।
बैंकले गत आवको तीन महीनामा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष भने नाफामा उल्लेख्य गिरावट आएको छ । नाफा प्रभावित भएसँगै बैंकको प्रतिशेयर आम्दानी पनि (ईपीएस) ३.१६ रुपैयाँबाट घटेर ०.१७ रुपैयाँ कायम भएको छ।
बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ। ब्याज आम्दानी बढे पनि बैंकको सञ्चालन नाफा ६ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ जुन गत वर्ष २९ करोड ८१ लाख रुपैयाँ धनात्मक थियो।
यस अवधिमा बैंकको कुल सञ्चालन नाफा २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ र रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ।
समिक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको खराब कर्जा ४.७८ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ २३९.५२ रुपैयाँ रहेको छ।




















प्रतिक्रिया