Logo

अर्थ

घट्यो बैंकहरूको नाफा, कसले कति कमाए?



काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनासम्म आइपुग्दा बैंकको नाफा उल्लेख्य घटेको हो ।

बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा ५ वटा बैंककाे मात्रै नाफा १ अर्ब नाघेकाे छ । पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेकाे छ । बैंकले तीन महिनामा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २२.९१ प्रतिशत धेरै हो । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ कमाएको छ । बैंकको नाफामा १४.५६ प्रतिशत गिरावट आएको छ ।

त्यस्तै प्राइम बैंकले तेस्रो स्थानमा परेकाे छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा भने २.२० प्रतिशत कमी हो ।

चौंथोमा रहेको एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एभरेष्टको नाफा भने ४.५७ प्रतिशत बढेको हो । पाँचौंमा रहेको कुमारीले पनि तीन महिनामा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कुमारीको नाफा २ प्रतिशत घटेको छ ।

पहिलो त्रैमासमा सर्वाधिक नाफा राष्ट्रिय वाणिज्य बैंकले ५ करोड ८७ लाख रुपैयाँ कमाएकाे छ । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा सानिमा बैंकको नाफा ४५ करोड ४९ लाख र एनआइसी एशियाको १२ करोड २१ लाख कमाएका छन् ।

त्यस्तै कृषि विकास बैंकको नाफा सर्वाधिक ९७ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ९६.९२ प्रतिशत, प्रभूको ४६.३३ प्रतिशत, नेपाल एसबिआइको ३८.४३ प्रतिशत, लक्ष्मी सनराइजको ३८.०४ प्रतिशत, एनएमबिको २०.०४, स्ट्याण्डर्ड चार्टर्डको १९.७२, माछापुच्छ्रेको १६.९५, सिद्धार्थको १५.१८, हिमालयनको ३.३१ र नेपाल बैंकको २.२० प्रतिशत घटेको छ ।

सिटिजन्स बैंकले त झन २२ करोड ४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १३:०८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।